यस्तो छ विश्वकप क्वार्टरफाइनलको रोचक प्रतिस्पर्धा

 असार २०, २०७५ बुधबार १४:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

कोलम्बियाविरुद्ध इंग्ल्याण्डको जितसँगै रुसमा जारी २१औं संस्करणको फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे, आयोजक रुसले क्रोएसिया, ब्राजिलले बेल्जियम र इंग्ल्याण्डले स्वीडेनसँग खेल्नेछ ।
 
क्वार्टरफाइनल चरणका खेलहरु शुक्रबारदेखि सुरु हुनेछ । शुक्रबार पौने ८ बजे हुने पहिलो क्वार्टरफाइनल उरुग्वे र फ्रान्स भिड्नेछन् भने त्यही दिन राति पौने १२ बजे हुने दोस्रो खेलमा ब्राजिल र बेल्जियम आमने सामने हुनेछन् ।
 
त्यस्तै शनिबार पनि दुई क्वार्टरफाइनल हुनेछ । शनिबार साँझ पौने ८ बजे स्वीडेन र इंग्ल्याण्ड तथा पौने १२ बजे आयोजक रुस र क्रोएसिया आमने सामने हुनेछन् ।
 
समूह चरणमा जर्मनीको बहिर्गमनसँगै सुरु भएको अप्रत्यासित नतिजाको क्रम नकआउट चरणमा पनि रोकिएन । उपाधि दावेदार टोलीहरु स्पेन, पोर्चुगल र अर्जेन्टिनाले यस विश्वकपमा अन्तिम १६ बाट माथि जान सकेनन् । यससँगै विश्व फुटबलमा मेस्सी र रोनाल्डो युगको पनि अन्त्य भएको विश्लेषण धेरैको छ । केलिन एमबाप्पे, रोमेलु लुकाकु, ह्यारी केन, नेइमार युगको सुरु भएको छ । विश्वकपको प्रि क्वार्टरफाइनल चरणमा भएका केहि तथ्यहरु हामीले उल्लेख गरेका छौं ।

पेनाल्टीमा क्रोएसिया र इंग्ल्याण्ड भाग्यमानी, स्पेन अभागी

विश्वकपको नकआउट चरण अन्तर्गत प्रि क्वार्टरफाइनलका दुई खेल पेनाल्टी शुट आउटमा पुग्यो । घरेलु टोली रुसले पूर्व च्याम्पियन स्पेनलाई एक–एक गोलको बराबरीमा रोकेपछि भएको पेनाल्टी शुटआउटमा स्पेन अभागी सावित भयो । उसले ४–३ ले खेल गुमायो । स्पेनका कोके र लागो आसपासको पेनाल्टी रुसका गोलरक्षक अमिनफिभले रोकिदिए ।
 
यता क्रोएसिया भने पेनाल्टी शुटआउटमा भाग्यमानी बन्यो । डेनमार्कले निर्धारित र अतिरिक्त समयमा क्रोएसियालाई १–१ को बराबरीमा रोकेपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा डेनमार्कका गोलरक्षक कास्पर सेमाइकलले २ पेनाल्टी रोक्दा क्रोएशियाका भेट्रान किपर ड्यानियल सुवेसिचले ३ पेनाल्टी रोकेका थिए । उनले विश्वकपका एकै खेलमा धेरै पेनाल्टी रोक्ने कीर्तिमान पनि बनाएका छन् ।
 
साथै प्रिक्वार्टरफाइनल चरणको अन्तिम खेलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको हो । इंग्ल्याण्डले पेनाल्टीमा खेल जितेको विश्वकप इतिहासकै पहिलो पटक हो ।

स्पेन र अर्जेन्टिनाको अप्रत्यासित बहिर्गमन

सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकपको उपाधि जितेको स्पेन गत संस्करणमा समूह चरणबाटै बाहिरियो । स्पेनको चर्चित टिकी टाका शैली चार वर्षअघि ब्राजिलमा असफल भइसकेको थियो । र, त्यही शैलीको ह्याङओभरले स्पेनलाई यस संस्करणमा पनि अन्तिम १६ बाट माथि लगेन ।
 
घरेलु टोली रुसले उसलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले पाखा लगायो । सोभियत संघ टुक्रिएपछि रुस पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्यो ।
 
यता अर्जेन्टिना र पोर्चुगलको बहिर्गमन स्पेनको जस्तो अप्रत्यासित भने होइन । समूह चरणमा उपविजेतामा सीमित भएपछि अर्जेन्टिनाले नकआउट चरणको पहिलो खेलमै उपाधिको अर्को दावेदार फ्रान्ससँग खेल्नुपर्यो । एक से एक स्टार खेलाडीले भरिएको फ्रान्सविरुद्ध अर्जेन्टिनाले अपेक्षाकृत उत्कृष्ट खेल्यो । तर, केलियन एमबाप्पे चम्किएपछि अर्जेन्टिनाले फ्रान्सको गीत थेग्नै सकेन र ४–३ गोलले पराजित हुनुपर्यो ।
 
पोर्चुगलको हालत पनि त्यस्तै रह्यो । दुई पटकको विश्व विजेता पोर्चुगलले क्रिष्टियानो रोनाल्डोको टोलीलाई २–१ ले हराएर क्वार्टरफाइनलमा पुग्दा उसको प्रदर्शन खेलैपच्छिे सुधारिएको देखियो । रोनाल्डोलाई नियन्त्रणमा राख्दा पोर्चुगलको प्रदर्शन निकै कमजोर हुने बुझेको उरुग्वेको यही रणनीतिले उसलाई जित दिलायो । त्यसमा पनि अग्रपंक्तिमा लुइस स्वारेज र इडिन्सन कभानीको तालमेल शानदार देखियो ।

मेस्सी र रोनाल्डो युगको अन्य, एमबाप्पेको उदय

अहिले मेस्सी ३१ र रोनाल्डो ३३ वर्षका भए । सम्भवतः उनीहरुका लागि यो अन्तिम विश्वकप हो । सन् २०२२ मा हुने कतार विश्वकपमा रोनाल्डो ३७ र मेस्सी ३५ वर्षका हुनेछन् । समूह चरणमा रोनाल्डोले आफ्नो टोलीका लागि शानदार प्रदर्शन गरी नकआउट चरणमा ल्याए । मेस्सीले अपेक्षाकृत कमजोर प्रदर्शन गरे ।
 
दुवै खेलाडी विश्वकपको नकआउट चरणमा गोल गर्न असफल रहे । रोनाल्डो र मेस्सीले चारवटा विश्वकप खेल्दा रोनाल्डोको ८ र मेस्सीको ६ विश्वकप गोल छ । तर, उनीहरुले विश्वकपको नकआउट चरणमा गोल भने गर्न सकेनन् ।
 
यी दुई खेलाडीले १० वर्षयता अविछिन्न विश्व फुटबलमा राज जमाउँदै आएका छन् । तर, ढल्कँदो उमेरसँगै उनीहरुको युग समाप्त भएको बताइरहँदा विश्व फुटबलमा १९ वर्षे एक युवाले महान खेलाडी बन्ने संकेत गरेका छन् ।
 
फ्रान्सका युवा खेलाडी केलिन एमबाप्पेको अहिलेको बजारमूल्य १८० मिलियन युरो हो । मोनाकोबाट पीएसजीले यही मूल्यले यसै सिजनदेखि उनलाई आफ्नो बनाउँदैछ ।
 
नकआउट चरणको पहिलो खेलमा उनले अर्जेन्टिनाबिरुद्ध चार मिनेटको अन्तरमा २ गोल गरे, उनलाई सर्वकालीन महान खेलाडी पेलेसँग तुलना गर्न थालिएको छ । उनले विश्वकपको नकआउट चरणमा गोल गर्ने किशोर स्ट्राइकरको रुपमा पेलेको कीर्तिमान बारबरी गरेका छन् । पेलेले सन् १९५८ मा विश्वकप दिलाउने क्रममा फाइनलमा स्वीडेनबिरुद्ध २ गोल गरेका थिए ।
 
एमबाप्पेले समूह चरणमा सिन १ गोल गरेका थिए । पेलेको कीर्तिमान तोड्न एमबाप्पेका लागि अर्को अवसर छ, उरुग्वेविरुद्ध । त्यस खेलमा पनि जित हासिल गरे उनका लागि अन्य अवसरहरु पनि आउनेछन् ।

बेल्जियमको बहादरीपूर्ण प्रदर्शन

क्वार्टरफाइनलमा ब्राजिलसँगको भेटअघि डार्क हर्स बेल्जियमले एसियाली पावर हाउस जापानविरुद्ध सनसनीपूर्ण ३–२ गोलको जित निकाल्यो । तुलनात्मक रुपमा बलियो मानिएको बेल्जियमलाई पहिलो हाफमा बराबरीमा रोकेर जापानले दोस्रो हाफको ८ मिनेटभित्रै २ गोल गर्न सफल भयो ।
 
यस्तो लाग्दैथ्यो कि बेल्जियमको विश्वकप यात्रा सकियो । तर, उसले खेलमा नाटकीय पुनरागमन गरी जित हासिल गर्यो । उसका लागि ६९औं मिनेटमा भर्टोनघेनले गोल गरेका थिए ।
 
६५औं मिनेटमा सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोरुन फेलिनी र नासीर चाड्लीले क्रमसः ७४ र ९४औं मिनेटमा गोल गरेपछि बेल्जियमले खेल जित्यो । विश्वकपको इतिहासमै २–० ले पछि परेको अवस्थाबाट पुनरागमन गरी खेल जितेको यो दोस्रो घटना हो । यसअघि सन् १९७० को विश्वकपमा तत्कालीन पश्चिम जर्मनीले २–० ले पछि परेको स्थिति उल्टाउँदै खेल ३–२ ले जितेको थियो ।

र, स्पेनको ‘महान’ पुस्ताको अन्त्य

रुसविरुद्धको अप्रत्यासित हार र बहिर्गमनसँगै स्पेनको ‘महान’ पुस्ताको अन्त्य भएको छ । सन् २००८ र २०१२ को युरो तथा २०१० को विश्व विजेता टोलीका सदस्यहरुका लागि यो सम्भवतः अन्तिम विश्वकप हो ।
 
सर्जियो बुस्केट, पिके र रामोस सन् २०१० को ‘महान’ स्पेनिस टिमका सदस्य हुन् । उनीसँगै इनिस्टा पनि त्यो महान टिमका सदस्य थिए, जसको गोलबाट स्पेनले सन् २०१० को विश्वकप उचालेको थियो । तर रसियाविरुद्धको खेलले त्यो महान पुस्ता सकिएको स्पष्ट संकेत दिएको छ ।
 
रुसविरुद्धको पेनाल्टीमा स्पेनिस महान पुस्ताका तीनै खेलाडी पिके, रामोस र इनिस्टाले आफ्नो शाख भने जोगाउन सफल भए । तर कोके र आसपासले गोल गर्न नसक्दा स्पेनिस फुटबलको सर्वोत्तम पुस्ता यसै विश्वकपको प्रि–क्वार्टरफाइनलबाट विदा भयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया