प्रिमनसुन सक्रिय, मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

 जेठ १९, २०७६ आइतबार ८:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  उपत्यकासहित देशभरको पहाडी क्षेत्रमा केही दिनदेखि नियमितजसो वर्षा भैरहेको छ । बिहान आकाशमा डम्म बादल लाग्ने, बेला बेलामा घाम लाग्ने र दिउँसोतिर असिनासहित पानी आउने गरेको छ । 

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भैरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम आइतबार पनि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आइतबार दिउँसोपछि काठमाण्डौसहित पूर्वी नेपालमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसमविद्हरुको पूर्वानुमान छ । 

भारतको झारखण्डमा विकशित भएको जलवाष्पयुक्त वायु पश्चिम नेपालबाट पूर्वतिर सर्दै गएकाले पूर्वी नेपालका धेरै ठाउँमा आइतबार हावाहुरी र ट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

मौसमविद् श्रेष्ठका अनुसार भारतबाटै धुलो उडेर आउने भएकाले पश्चिम नेपालमा तुँवालो लाग्ने सम्भावना पनि रहेको छ । शनिबार पनि काठमाण्डौ उपत्यकामा सामान्य बदली रही अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा भएको थियो ।

यस्तै, यो वर्ष नेपालमा मनसुन केही ढिलो गरी प्रवेश गर्ने मौसमविदहरुले बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रिने गर्छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया