वैशाखमा मात्रै ४८ हजारभन्दा बढी वैदेशिक रोजगारीमा, अदक्ष कामदारको संख्या धेरै

 जेठ २०, २०७६ सोमबार १६:६:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैशाख महिनामा मात्रै ४८ हजार ७५६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यसमध्ये ४५ हजार ८७८ जना पुरुष र २ हजार ८७८ जना महिलाले अन्तिम श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अन्तिम श्रम स्वीकृति लिनेमा धेरैजसो अदक्ष कामदार रहेका छन् । एक महिनाको अवधिमा मात्रै २६ हजार ८२५ जना पुरुष र १ हजार ७२५ जना महिला गरी २८ हजार ५५० जना अदक्ष कामदार विदेशिएका छन् ।

दक्ष कामदारको सँख्या बढ्दै

विदेशिनेमध्ये धेरै अदक्ष कामदार भए पनि पछिल्लोपट दक्ष कामदार बढेका विभागले जनाएको छ । वैशाखमा वैदेशिक रोजगारीमा जानेमध्ये  १६ हजार ४६४ दक्ष कामदार छन् । उच्च सीप भएका कामदारको भने कम संख्यामा विदेशिएका छन् । वैशाख विदेशिनेमध्ये  १७ जना मात्रै उच्च सीप भएका कामदार छन् ।

यसैगरी ३ हजार ६२२ जना अर्ध दक्ष कामदारले वैशाखमा अन्तिम स्वीकृति लिएका छन् । वैशाखमा विदेशिनेमध्ये १०३ जना ‘प्रोफेसनल’ छन् ।  मागपत्रका आधारमा प्रोफेसनल भन्नाले डाक्टर, इञ्जिनियर, प्राध्यापक लगायतलाई बुझिने वैदेशिक रोजगार विभागकका कम्युटर इन्जिनियर राजु श्रेष्ठले बताउनुभयो । 

तालिम लिएका र त्यसमा पनि विशिष्ट दक्षता भएकालाई उच्च दक्ष, तालिम लिएर कुनै पनि पेशासँग सम्बन्धित सीप भएका र त्यही काममा जानेलाई सिपयुक्त, काम धेरथोर जानेको तर सीप भएका प्रमाण नभएकालाई अर्ध दक्ष र सीप नभएका कामदारलाई अदक्ष भनेर मागपत्रमा नै वर्गीकरण गरिएको हुने र त्यही अनुसार विभागले कामदारलाई अन्तिम श्रम स्वीकृति दिने गरेको पनि उहाँले बताउनुभयो ।

झण्डै २५ सय मलेसिया गए

गएको वर्षको जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी बन्द छ । तर कलिङ भिसा आइसकेका कामदारको हकमा भने सरकारले अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको थियो ।

कलिङ भिसा आएकाले २ हजार ४५३ जनाले मलेसिया जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।  अन्तिम स्वीकृति लिनेमा २ हजार ४१९ पुरुष र ३४ जना महिला रहेका छन् । 

यस्तै एक महिनाको अवधिमा सबैभन्दा धेरै साउदीका लागि अन्तिम स्वीकृति लिएका छन् । ५ हजार २२२ जनाले साउदी जानका लागि अन्तिम स्वीकृति लिएको विभागले जनाएको छ । साउदीपछि कतार जानका लागि ५ हजार २२२ जनाले अन्तिम स्वीकृति लिएका छन् । 

कतारपछि तेस्रो नम्बरमा यूएई जानेको संख्या छ । एक महिनाको अवधिमा ४ हजार २५३ जनाले यूएईका लागि अन्तिम स्वीकृति लिएका छन् । बहराइनका लागि ३६१, कुवेतका लागि १ हजार ५८४ तथा ओमानका लागि १७८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । 


 

अन्तिम अपडेट: पुस १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया