विश्वकप क्रिकेट : पाकिस्तानले इंग्ल्याण्डलाई १४ रनले हरायो

 जेठ २०, २०७६ सोमबार २३:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको यो संस्करणमा पाकिस्तानले पहिलो जित निकालेको छ । जसमा उसले घरेलु टिम इंग्ल्याण्डलाई १४ रनले हरायो । पाकिस्तानले एकदिवसीय खेलमा ११ खेलपछि पहिलो जित निकालेको हो ।

३४९ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा नौ विकेट गुमाउँदा तीन सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाति खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । इंग्ल्याण्डका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जोनी बेयरस्टो ३२ रनमा पेभेलियन फर्किए ।

 

तर पाँचौ विकेटका लागि जोय रुट र जस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए । जसमा रुटले शतकीय पारी खेले । तर रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भएपछि इंग्ल्याण्डले दुई सय ४८ रनमा पाँचौ विकेट गुमायो ।

त्यसपछि जस बटलरले पनि शतक प्रहार गरे । विश्वकपमा कम बलमा शतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा शतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठूलो दबाबमा परेको थियो ।

त्यसपछि मोइन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिममा जितका लागि २५ रन चाहिएको थियो । तर उसले पूरा गर्न सकेन ।


बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वहाब रियाजले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर तीन सय ४८ रन बनायो । उसले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फखर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर आजमले ६३ र मोहम्मद हफीजले ८४ रन थपे ।

यस्तै कप्तान सरफराज अहमदले ५५ रनको योगदान गरे । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि आजम र हफीजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे ।

त्यसपछि चौथो विकेटका लागि हफीज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्यतिर अगाडि बढेको थियो । 

इंग्ल्याण्डका लागि क्रिस वोक्स र मोइन अलीले ३–३ विकेट लिए । त्यस्तै मार्क वुडले २ विकेट लिए । 


 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया