सन्यास लिँदै होन्डाले भने : युवा पुस्ताले जापानी फुटबलको इतिहास लेख्नेछ

 असार २०, २०७५ बुधबार १८:२१:१५ | एजेन्सी

जापानको राष्ट्रिय फुटबल टोलीका दुई दिग्गज खेलाडीले विश्वकपको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । 

जापानका चर्चित खेलाडी केइसुके होन्डा र माकोतो हासेबेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । प्रि–क्वार्टरफाइनलमा बेल्जियमसँग २–० ले अगाडि भएर पनि जापान बेल्जियमसँग हार्न पुगेको थियो । नासेर चाड्लीले खेल सकिन केही सेकेण्ड मात्रै भएको अवस्थामा गोल गर्दै बेल्जियमलाई जिताएका थिए । २–० ले अगाडि भएर पनि जापान बेल्जियमसँग ३–२ ले हार्न पुग्यो । 

होन्डा रुस विश्वकपमा सुरुवाति ११ मा परेनन् । उनी सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका थिए । 

होन्डाले जापानका लागि ९८ खेल खेलेका छन् भने ३७ गोल गरेका छन् । ‘हामीले आज जापानी फुटबलको दिशा देखायौँ’, बेल्जियमसँगको खेलपछि होन्डाले भने, ‘ म खुशी छु किनकी हामीसँग उत्कृष्ट युवा खेलाडी छन् । अब उनीहरुले नै जापानी फुटबलको इतिहास लेख्नेछन् ।’

हाेन्डा तीनवटा विश्वकपमा गाेल गर्ने पहिलाे जापानी खेलाडी हुन् । उनले २०१० काे विश्वकपमा डेनमार्क तथा क्यामरुनविरुद्ध एक-एक गाेल गरेका थिए । त्यस्तै २०१४ काे विश्वकपमा अाइभाेरी काेस्टिवरुद्ध एक गाेल गरेका  थिए । रुस विश्वकपमा पनि सेनेगलविरुद्ध उनले बराबरी गाेल गरेका थिए । 

एसी मिलान तथा सीएसकेए मस्कोका पूर्व खेलाडीसमेत रहेका होन्डाले भने, ‘,यो नै मेरो अन्तिम विश्वकप हो । वास्तविकता नै त्यही हो । इमान्दार भएर भन्नुपर्दा मैले टिमलाई अर्को चरणमा लैजान चाहन्थेँ तर मैले त्यो गर्न सकिनँ । मैले आफूले गर्न सक्ने जति गरेँ । मैले गर्न सक्ने राम्रो गरेकै हो ।’

होन्डासँगै जापानी कप्तान हासेबेले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । हासेबेले जापानका लागि ११४ खेल खेलेका छन् । उनले सन् २००२ मा जापानको राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । 

विश्वकपमा कोलम्बियाजस्तो बलियो टिमलाई समेत हराएर इतिहास रचेको जापानले विश्वफुटबलमा आफ्नो क्षमता प्रदर्शन गरेको छ । साथै बेल्जियमसँग पनि उसले प्रशंसा गर्न योग्य प्रदर्शन गर्यो । 

जापान अब सन् २०१९ मा यूएईमा हुने एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित उत्रने आशा गरिएको छ । 
 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया