युवा बिदेसिए: मनग्य आम्दानी हुने भेडापालन व्यवसाय संकटमा

 जेठ २१, २०७६ मंगलबार १३:३९:६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – मुख्यतया गुरुङ समुदायको पुख्र्यौली पेशा मानिन्छ, भेडापालन व्यवसाय । पहिले लमजुङमा झण्डै ३ सयभन्दा बढी भेठीगोठ थिए। स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रुपमा भेडा पाल्दै आएका थिए तर पछिल्लो समय भेडापालन व्यवसाय संकटमा छ ।

युवापुस्ताले याे व्यवसायमा खासै चासो नदिएका कारण पनि यो व्यवसाय संकटमा पर्दै गएको हो । युवाहरु शहर र विदेश गएकाले भेडापालन व्यवसायमा युवापुस्ताको खासै चासो देखिँदैन ।

भेडापालन व्यवसायबाट मासु र ऊन बिक्रीबाट मनग्य कमाउन सकिने भए पनि कठीनाइ हुने भएकाले यस व्यवसायमा युवापुस्ताले खासै चासो नदिएको पाको भेठीगोठालाहरु बताउँछन् ।

‘भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ,’ उनीहरु भन्छन्, ‘तर भेडा चराउन कहिले बेसी त कहिले लेक गरिरहनु पर्छ । दुःख छ, त्यसैले पनि यf] व्यवसायमा लाग्ने युवाको कमी छ ।’

९० वटा घुम्ती भेडीगोठ: १५ हजार भेडा, ६ हजार बाख्रा

परम्परागत रुपमा घुम्ती भेडीगोठमा भेडा पाल्ने परम्परा लमजुङमा अझै कायम छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार लमजुङको भोजे, पसगाउँ, घनपोखरा, घेर्मु, ताघ्रिङ, बाहुनडाँडा, भूलभूले, फलेनी, वन्सार, पाचोक गौँडा, कोल्की, इलमपोखरी, दूधपोखरी लगायतका ठाउँमा घुम्ती भेठीगोठ रहेका छन् ।

उहाँका अनुसार जिल्लामा ९० वटा घुम्ती भेडीगोठ रहेका छन् । ती भेठीगोठमा झण्डै १५ हजार ‘वरुवाल’जातको भेडा रहेका छन् भने झण्डै ६ हजार ‘सिन्हाल’ जातका बाख्रा पालिएका छन् ।

वार्षिक १२ करोड आम्दानी

घुम्ती भेडीगोठमा पालिएका भेडाहरुबाट वार्षिक दुई सय मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । प्रति भेडाको मूल्य ३० हजार रुपैयाँभन्दा बढी पर्छ । भेडाको उनको मूल्य प्रतिधार्नी चारसय रुपैयाँभन्दा बढी पर्छ । 

जिल्लामा भेडाको मासु बिक्रीबाट मात्रै वार्षिक झण्डै १२ करोड रुपैयाँ आम्दानी हुँदै आएको छ । जिल्लामा उत्पादित भेडाको मासु काठमाण्डौ, पोखरा, चितवनलगायतका शहरमा पुग्छन् । 

जिल्लामा वार्षिक झण्डै ६ हजार मेट्रिक टन ऊन उत्पादन हुँदै आएको छ । ऊन बिक्रीबाट मात्रै वार्षिक १२ लाखभन्दा बढी आम्दानी हुँदै आएको छ ।
ऊनबाट केही स्थानीलये बख्खु तथा राडीपाखी बनाएर राम्राे मूल्यमा बिक्री गर्दै आएका छन् । भेडाको ऊनबाट बनेको प्रतिबख्खुको मूल्य ८ हजार रुपैयाँ र ऊनबाट बनेको राडीको १५ हजार रुपैयाँ पर्छ । 

ऊनबाट बनेका सामग्री देशका साथै विदेशमा समेत खपत हुने गरेको छ । यसको माग र मूल्य दुवै उच्च रहेको छ । भेडाधनीले भेडा खरिद गरी भेडीगोठालाको जिम्मा लगाउँछन् । भेडाको चरन, रेखदेख भेडीगोठालाहरुले गर्छन् । यसबापत भेडीगोठालाहरुले भेडा धनीबाट नून, तेल, खानाखर्चका साथै केही रकम पाउँछन् । 
भेडा बिक्रीबाट आएको रकम भेडीगोठालाहरुले सम्बन्धित भेडा धनीलाई बुझाउँछन् । 

हिमालको काखसम्मै पुग्छन् घुम्ती भेडीगोठ

भेडा चराउन भेडाको बथान लिएर भेठीगोठालाहरु लेकबेंसी गरिरहन्छन् । भेडा चराउँदै उनीहरु हिमालको काखसम्मै पुग्छन् । घिमिरेका अनुसार युवाहरु बिदेसिएका कारण पनि याे व्यवसायमा संकटमा पर्दै गएकाे र केहीले मात्र निरन्तरता दिइरहेकाे पाइएकाे छ । भेडापालनलाई व्यवसायीकरण गर्दै लगेमा यसबाट मनग्य कमाउन सकिने र युवा पुस्तालाई आकर्षित गर्न सकिने उहाँ बताउनुहुन्छ । 

उहाँका अनुसार केन्द्रले घुम्ती भेठीगोठलाई साैर्य बत्ती तथा त्रिपाललगायतका सामग्री प्रदान गर्दै आएको छ । भेडाको मासु तथा ऊनको माग र मूल्य दुवै राम्रो छ । मासु र ऊनबाट व्यवसायीहरुले राम्रो आम्दानी गरिरहेका छन्। भेडाको मल बेचेर पनि आम्दानी गर्न सकिन्छ । अहिले तल्लो भेगमा भेडीगोठ रहँदा मल खेतबारीमा प्रयोग भएको छ भने माथिल्लो भेगमा भेडीगोठ जाँदा मल त्यसै खेर गएको छ ।

ऊनको संकलन, प्रशोधन र बजारीकरण गर्न आवश्यक

अहिले भेडाको ऊन पनि खेर जाने गरेकाे छ । ऊनको संकलन, प्रशोधन र बजारीकरण गर्नसके यसबाट मनग्य कमाउन सकिने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा. रुपेश श्रेष्ठ बताउनुहुन्छ । 

उहाँका अनुसार भौगोलिक विकटता तथा राज्यको न्यून पहुँच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानीहुन सकिरहेको छैन ।
 

अन्तिम अपडेट: मंसिर ४, २०७६

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया