व्यवसायीको आन्दोलनले वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो, एअर अरेबियाको उडान कटौती

 जेठ २१, २०७६ मंगलबार १५:४१:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार व्यवसायीले विदेश जाने कामदारको टिकट काट्न रोकेसँगै विमानस्थलमा यात्रुको संख्या घटेको छ । व्यवसायीले शुक्रबारदेखि टिकट काट्न बन्द गरेसँगै खाडी देश जाने यात्रुको संख्या घटेको हो ।

अहिले झण्डै ३० प्रतिशत यात्रु घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । यात्रुको संख्यासँगै दैनिक तीन उडान भर्दै आएको एअर अरेबियाले एउटा उडान घटाएर दुई वटा मात्रै उडान भरेको पनि उहाँले जानकारी दिनुभयो ।

फ्लाई दुबई, कतार एयरवेज, नेपाल एयरलाइन्स लगायत खाडी देशमा उड्ने विमानमा पनि यात्रुको संख्या घटेको छ । सरकारसँग राखेको पाँच बुँदे माग पूरा नभएको भन्दै व्यवसायीले शुक्रबारदेखि कामदारलाई विदेश पठाउन रोकेका छन् ।

सात दिनसम्म वैदेशिक रोजगारीमा जाने कामदारको टिकट नकाट्ने उनीहरुले घोषणा गरिसकेका छन् । उनीहरुको यो आन्दोलनका कारण बुधबारसम्म विमानस्थलमा यात्रुको संख्या घट्ने भएको छ ।

गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो ।

२३ गते बिहीबारदेखि भने पहिलेजस्तै नियमित रुपमा टिकट काटेर कामदार पठाउने संघका अध्यक्ष रोहन गुरुङले बताउनुभयो । तर सरकारले आफूहरुको मागबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको र माग सम्बोधन नगरेमा फेरि नयाँ कदम चाल्ने उहाँको भनाई छ । 

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन,  व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली देशअनुसार हुनुपर्ने माग पनि संघले गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया