डेंगु नियन्त्रणमा तीन तहको सरकारबीच समन्वयकाे अभाव

 जेठ २१, २०७६ मंगलबार १७:३६:२६ | सुमन पुरी
unn.prixa.net

सुनसरी - सुनसरीको धरान क्षेत्रमा फैलिएको डेंगुको सक्रमण रोक्न तीन तहको सरकारकाबीच समन्वय नहुँदा समस्या देखिएको छ ।

कसले के काम गर्ने भन्ने निर्क्याेल नहुँदा डेंगु नियन्त्रण हुन सकेको छैन । डेंगुको प्रकोप फैलिएको तीन सातापछि स्थानीय सरकारले प्रदेश सरकार र संघीय सरकारसँग सहयोग माग गरेसँगै जिल्ला बिपत व्यवस्थापन समितिको बैठक सोमबार बसेको छ । तर अझै समन्वय सुरु हुन सकेको छैन ।

धरानमा फैलिएको डेंगु नियन्त्रण बाहिर गएपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी नेतृत्वको टोली धरान आइपुगेको छ । डा. लोहनीले डेंगु प्रभावित क्षेत्रको वस्तुस्थिति बुझेर नियन्त्रणको प्रयास थाल्ने बताउनु भयो  ।

डेंगु फैलिएको तीन साताको अवधिमा धरान उपमहानगरपालिकाले नियन्त्रणको प्रयास गर्दागर्दै पनि डेंगु नियन्त्रण हुन नसकेपछि उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्रचार गरी सहयोग माग गरेको धरान उपमहानगरपालिका स्वास्थ्य सेवा विभाग प्रमुख रामबाबु यादवले बताउनु भयो  ।

डेंगुको प्रकोप फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाको संयुक्त टोली र्‍यापिड रेस्पोन्स टिमको बैठक बसेर डेंगु नियन्त्रणलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको थियो । उपमहानगरपालिकाले केही दिनअघि लामखुटे मार्न औषधी समेत छरेकाे थियाे । तर यी सबै प्रयास विफल भएपछि नगरवासी पनि त्रसित भएको स्थानीय बासिन्दा बिष्णु लिम्बूले बताउनुभयाे ।

धरानको वडा नं. ५, १५, ८ र १३ मा डेंगु सार्ने लामखुट्टेको अण्डा र लार्भा भेटिएकोले धुवाँ लगाएर मात्रै धरानमा डेंगु नियन्त्रण हुन नसक्ने टोलीको ठहर छ । यसलाई नियन्त्रण गर्न लामखुट्टेको बासस्थान नै नष्ट गर्नुपर्ने र सफा पानी जम्न नदिने लगायतका काम गर्नुपर्ने भए पनि प्रभावकारी हुन सकेको छैन । अहिले सम्म धरानमा ८० जनाको हाराहारीमा डेंगु संक्रमण भएको पुष्टि भइसकेको अवस्थामा बल्ल संघ र प्रदेश सरकार नियन्त्रणको लागि तातेका हुन् ।

डेंगु नियन्त्रण गर्न मास परिचालन

धरान क्षेत्रमा फैलिएको डेंगुको सक्रमण रोक्नका लागि बुधबार धरानमा मास परिचालन गर्ने तयारी भएको छ । जनप्रतिनिधिको नेतृत्वमा विभिन्न सामाजिक संघ सस्था, विद्यार्थी र साधारणले सरसफाइ गर्ने छन् । मास परिचालन गर्ने तयारी भइरहेको धरान उप महानगरका कार्यवाहक मेयर मञ्जु भण्डारीले बताउनु भयो ।

उहाँका अनुसार धरानका अधिकांश क्षेत्रमा डेंगु सार्ने लामखुट्टेको अण्डा, प्यूपा र लार्भा भेटिएको र नष्ट गर्न मास परिचालन गर्न लागिएको भण्डारीले बताउनु भयो । बुधबारको कार्यक्रममा सहभागी हुन उहाँले आह्वानसमेत गर्नुभएको छ ।   

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया