लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब

 जेठ २२, २०७६ बुधबार १३:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दलकै सांसदहरुले लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता लिन सरकारलाई चर्को दबाब दिएका छन् । 

सत्तारुढ समाजवादी पार्टी, नेपालका नेता एवम् सांसद रामसहायप्रसाद यादवले संघीयता, संविधान र कानुनविपरीत स्थानीय तहको समेत कर्मचारी नियुक्त हुने गरी लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल फिर्ता नलिए देश गम्भीर द्वन्द्वमा फस्ने चेतावनीसमेत दिनु भयो ।

बुधबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकका बोल्दै उहाँले स्थानीय तहको आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा समेत लोक सेवा आयोगले विज्ञापन गरेपछि त्यसको विरोधमा देशभर आन्दोलन सुरु भएको उल्लेख गर्दै त्यसलाई तत्काल नसच्याए देशमा ठूलो द्वन्द्व निम्तिनेतर्फ सरकारलाई सचेत पनि गराउनुभयो ।

लोक सेवा आयोगले केही दिनअघि प्रदेश र स्थानीय तहमा समेत कर्मचारी नियुक्त गर्ने गरी विज्ञापन खुला गरेको थियो । त्याे विज्ञापन संविधान र कानुनविपरीत आएको सांसद यादवको दाबी छ । उहाँले स्थानीय तह आफैले कर्मचारी नियुक्त गर्न पाउने संवैधानिक अधिकार लोक सेवा आयोगले कटौती गर्न नपाउने पनि स्पष्ट पार्नुभयो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले देशमा थप आर्थिक बोझ हुने गरी लोक सेवा आयोगले कर्मचारीको नियुक्तिका लागि विज्ञापन खुला गरेकोमा आपत्ति जनाउनुभयो । उहाँले कर्मचारी कटौती गर्ने र उनीहरुको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराउनुभयो ।

गरिब नागरिकले तिरेको ट्याक्सबाट कर्मचारी र जनप्रतिनिधिहरुलाई सेवा, सुविधा थप गर्ने काम गर्नु अपराधसरह भएकाले कर्मचारीहरुको सेवा, सुविधा बढाउने काम सरकारले गर्न नहुने सांसद भुसालको भनाइ छ ।

सांसदहरुले कर्मचारीहरुको अभाव भए तत्कालका लागि करारमा राख्ने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया