म्यानपावर व्यवसायीको आन्दोलन प्रभावहीन : दैनिक ११ सय युवा वैदेशिक रोजगारीमा

 जेठ २३, २०७६ बिहिबार १४:०:३४ | उज्यालो सहकर्मी

काठमाण्डौ – म्यानपावर व्यवसायीले कामदारको हवाई टिकट रोकेको दावी गरे पनि वैदेशिक रोजगारीमा जानेको संख्या भने रोकिएको छैन । 

व्यवसायीले गएको शुक्रबारदेखि आज बिहीबारसम्म टिकट नकाट्ने भन्दै आन्दोलन गरे पनि यस अवधिमा दैनिक ११ सयको हाराहारीमा युवा वैदेशिक रोजगारीमा गैरहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षका प्रमुख बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

व्यवसायीले कामदारको उडान रोक्ने भन्दै आन्दोलन गरेको एक हप्ताको समयमा वैदेशिक रोजगारीमा जाने युवामध्ये ५० प्रतिशत संस्थागत रुपमै गएको पनि उहाँले जानकारी दिनुभयो । 

‘रमजानको बेला वैदेशिक रोजगारीमा जानेको संख्या कम नै हुन्छ, यो वर्ष मात्रै हैन अघिल्ला वर्षहरुमा पनि रमजानको समयमा कामदार कम नै जाने गर्थे’ उहाँले भन्नुभयो, ‘व्यवसायीले रमजानकै अवसरमा कामदारको टिकट काट्ने रोक्यौं भने पनि अवस्था यस्तो छैन, कामदार गैरहेका छन्, त्यो पनि ५० प्रतिशत संस्थागत रुपमै गएका छन् ।’

श्रम कक्षको तथ्याँकको आधारमा केही म्यानपावरकम्पनीले वैदेशिक रोजगारीमा कामदार नपठाए पनि नयाँ र धेरैजसो कम्पनीले कामदार वैदेशिक रोजगारीमा पठाएको उहाँले बताउनुभयो । 

व्यवसायीको आन्दोलनका कारणभन्दा पनि खाडीसहित इस्लाम धर्म मान्ने विभिन्न देशमा रमजान पर्व एक महिनासम्म चल्ने हुँदा अघिल्ला वर्षहरुमा वैदेशिक रोजागरीमा जाने कामदारको संख्या कम हुने गरेको उहाँको भनाई छ ।

वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको रमजानको समयमा २३ हजार ६ जना वैदेशिक रोजगारीमा गएका थिए भने यो वर्ष २० हजार ९ सय ७६ जना गएका छन् ।

गएको वर्षको रमजानको तुलनामा यो वर्ष २ हजार ३० जना कम गएका छन् । तर गएको वर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारीमा जाने युवाको संख्या पनि कम नै छ । 

यस अवधिमा झण्डै ३० प्रतिशत यात्रुको संख्या घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । 

व्यवसायीको आन्दोलनले मात्रै नभइ चाडपर्वका कारण पनि यात्रुको संख्या घटेको हुनसक्ने उहाँको भनाई छ । ‘कतिपय मेनपावरले वैदेशिक रोजगारीमा पठाइरहेकै छन्, त्यस्तो रोकिएको छैन, तर केही कमी भने आएको हो’ महाप्रबन्धक क्षेत्रीले भन्नुभयो । 

टिकट नकाटेको व्यवसायीको दावी 

रमजानको समयमा रोजगारदाताले काम गर्ने समय नै घटाउने गर्छन् । त्यति मात्र हैन रमजानको अन्तिम हप्ता गन्तव्य देशमा पुग्दा रोजगारदाता लिन नआउने र विमानस्थलमै बस्नुपर्ने समस्या रहेको पनि कामदार बताउँछन् । 

कामदार कम जाने समय पारेरै वैदेशिक रोजगार व्यवसायी संघले टिकट नकाट्ने भन्दै आन्दोलन गरे पनि केही व्यवसायीले यस अवधिमा कामदार पठाएका छन् । 

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ चाहिँ आफूहरुको आन्दोलन सफल भएको दावी गर्नुहुन्छ । आफूहरुले टिकट नकाटेको र गएका कामदार बिदामा आएर फर्किएको हुनसक्ने उहाँको भनाई छ । साथै सरकारले आफूहरुको मागबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको र माग सम्बोधन नगरेमा फेरि नयाँ कदम चाल्ने उहाँको भनाई छ । 

व्यवसायी सङ्घमा आबद्ध व्यवसायीले गएको जेठ ३ गते बृहत् भेलामार्फत् निर्णय नै गरेर ६ बुँदे माग सम्बोधन नभए जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारको उडान बन्द गर्ने निर्णय गरेका थिए ।

संघले वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको ब्याज व्यवसायीले पाउनुपर्ने, मर्जर हुने संस्थालाई उपयुक्त सुविधा दिनुपर्ने, मलेसियासँग भएको समझदारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरेर कामदारलाई मलेसिया पठाउने प्रक्रिया सुरु गर्नुपर्ने माग गरेको छ ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र पासवर्ड दिएर अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरण गर्न दिन,  व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली देशअनुसार हुनुपर्ने माग पनि संघले गरेको छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया