विश्वकप क्रिकेट : कल्टर नाइल र मिचेल स्टार्कको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाको दोस्रो जित

 जेठ २४, २०७६ शुक्रबार ६:४७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्याटिङमा नेथन कल्टर नाइल र बलिङमा मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेपछि साविक विजेता अष्ट्रेलियाले एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले पराजित गरेको हो ।

मिचेल स्टार्कले विश्वकप करिअरमा तेस्रो ५ विकेट लिएपछि २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन मात्र जोड्न सक्यो ।

पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो वेष्ट इन्डिजको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले पाकिस्तानलाई हराएकोे थियो ।

वेष्ट इण्डिजले सुरुआत कमजोर गरेको थियो । ओपनर इभिन लेविशले १ रनमात्र बनाउँदा क्रिश गेलले २१ रन प्रहार गरी मिचेल स्टार्कको बलमा एलबीडब्यू धरापमा परे ।

निकोलास पूरन र साही होपले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरी पारी उकासे । पुरन ४० रनको स्कोरमा आउट भएपछि आएका सिमरन हेटमेयरसँग मिलेर होपले अर्को ५० रनको साझेदारी गरे । हेटमेयरले २१ रन बनाए ।

कप्तान जेसन होल्डरसँग होपले पाँचौं विकेटका लागि ४० रनको साझेदारी गरे । होपले १०५ बलमा चौकाको सहयोगमा ६८ रनको उत्कृष्ट पारी खेले पनि पर्याप्त भएन ।

कप्तान होल्डरले ५ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५१ रन जोडे । आन्द्रे रसेल १५ र कार्लोस ब्रेथवेइट १६ रनमा आउट भए ।

बलिङमा अष्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ४६ रन खर्चेका हुन् । योसँगै स्टार्कले एकदिवसीयमा १५० विकेट पूरा गरेका छन् । प्याट कुमिन्सले २ र एडम जाम्पाले १ विकेट झारे ।

नटिङघमको ट्रेन्ट ब्रिज रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रनको योगफल खडा गरेको थियो । उसका लागि स्टिभ स्मिथ र नेथन कल्टर नाइलले उत्कृष्ट प्रदर्शन गरे ।

ओपनर डेभिड वार्नर र एरोन फिन्चसहित अर्का ब्याट्सम्यान उस्मान ख्वाजा पनि सस्तैमा आउट भएपछि सुरुआतमै अष्ट्रेलिया दबाबमा परेको थियो । ग्लेन म्याक्सवेलले खाता खोल्नै नसक्दा अष्ट्रेलिया ७.४ ओभरमा ३८–४ को स्थितिमा थियो ।

सातौं विकेटका लागि स्टिभ स्मिथ र कल्टर नाइलले ९९ रनको साझेदारी गरेपछि अष्ट्रेलियाले ठोस योगफल बनाएको हो ।

स्मिथले १०३ बलमा ७५ रन बनाउँदा नाइलले ६० बलमा ८ चौका र ४ छक्कासहित ९२ रनको सानदार पारी खेले ।

वेष्ट इण्डिजका कार्लोस ब्रेथवेइटले ३ विकेट लिए । सेल्डन कोट्रेल, ओसाने थोमस र आन्द्रे रसेलले २–२ विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया