एकछिन मौसम खुले पनि हावाहुरी र पानी पर्न सक्ने मौसमविदको भनाइ

 जेठ २४, २०७६ शुक्रबार ७:१७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शुक्रबार बिहानै ठूलो हावाहुरी र पानी परेको काठमाण्डौमा सात बजेपछि भने मौसम खुलेको छ । तर एकछिन मौसम खुले पनि फेरि हावाहुरी र पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका धेरै ठाउँमा चट्याङ र तीव्र गतिको हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा यही प्रणालीको असरले तीव्र गतिको हुरीबताससहित पानी परेको हो ।

यही प्रणाली आइपुगेकाले बिहानै उपत्यकासहित मध्य क्षेत्रका धेरै ठाउँमा तीव्रगतिको हुरीबताससहित पानी परेको थियो । अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले पूर्वमा पनि हुरीबतास चल्ने मौसमविद् सुवास रिमालको अनुमान छ । उहाँका अनुसार शुक्रबार मध्य र पूर्वको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना छैन ।

काठमाण्डाै उपत्यकामा बिहानै हावाहुरीसहित भएको वर्षा अहिले रोकिएको छ । 

मौसम एकैछिन खुलेपनि फेरि बदली भई हुरीबताससहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । केही उच्च हिमाली भेगमा हिमपात पनि हुने भएकाले हिमाल चढ्न नजान पनि उहाँको सुझाव छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै बदली हुनेछ । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया