कैलाली – कञ्चनपुरमा भीषण हावाहुरी : आवश्यक उपकरण र प्रविधिको अभावमा पूर्वानुमान हुन सकेन

 जेठ २४, २०७६ शुक्रबार ८:५०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आवश्यक उपकरण र प्रविधिको अभावका कारण बिहीबार बेलुकी आएको विनाशकारी हावाहुरीबारे समयमै जानकारी दिन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको मिश्रणले बिहीबार बेलुकी कैलाली र कञ्चनपुरमा ठूलो हावाहुरीसहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

स्थानीय वायुको प्रभाव र हावाहुरीबारे जानकारी दिन सक्ने प्रणालीको अभावका कारण पूर्वानुमान महाशाखाले समयमा सचेत गराउन नसकेको मौसमविद्हरु बताउँछन् ।

‘सामान्यतया धेरै दिनदेखि पानी नपरेका कारण कैलाली कञ्चनपुरको तापक्रम बढ्दै गइरहेको थियो स्थानीय वायुको प्रभावले त्यहाँ ‘क्युमोलोनिम्बस’ बादलको निर्माण भैरहेको थियो, यसैमा भारतको उत्तराखण्ड क्षेत्रमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव मिसिएर हावाहुरीसहित वर्षा भएको हो’ महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘सामान्य हावाहुरीको पूर्वानुमान भए पनि स्थानीय वायुको प्रभावले एक्कासी ठूलो हावाहुरी चल्छ भन्ने पूर्वानुमान हुन सकेन ।’

अहिले यो प्रणाली पूर्वतिर सरिरहेकाले बिहानै उपत्यकासहित मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो । यो प्रणाली विस्तारै निष्क्रिय हुँदै पूर्वतिर सरिरहेको छ ।

एकाबिहानै हावाहुरीसहित वर्षा भए पनि अहिले काठमाण्डौ र आसपासमा घाम लागेको छ । 

कति थियो वायुको गति ?

कञ्चनपुर र कैलालीमा आएको वायुको गति कति थियो भन्ने यकिन तथ्यांक छैन । मौसमविद् पौडेलले भन्नुभयो ‘त्यतिबेला ४०–४५ किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको अनुमान गर्न सकिन्छ ।’

क्षति 

बिहीबार राति हावाहुरीका कारण कैलालीमा २ जनाको ज्यान गैसकेको छ भने ७० जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

यसैगरी हावाहुरीका कारण ठाउँ ठाउँमा रुख ढलेका छन् भने बिजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

रुख तथा बिजुलीका पोल ढल्दा कतिपय ठाउँमा सवारीसाधन आवागमनमा पनि प्रभावित बनेको छ । कतिपय ठाउँमा बिजुलीको पोल र ढलेका रुख हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भैरहेको छ । 

 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया