राजकुमार हिरानीको रोमान्टिक फिल्मले ताेड्ला त शाहरुखकाे फ्लप सिरिज !

 जेठ २५, २०७६ शनिबार १३:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

लगातार फ्लप फिल्मको मारमा परेका भारतीय अभिनेता शाहरुख खान पछिल्लो समयमा एक यस्तो कथा र निर्देशकको खोजीमा छन् ।

आफ्नाे डुब्दै गरेको स्टारडमलाई फेरि पर्दामा जमाउनका लागि उनी याे अभियानमा लागेका हुन् । यसैबीच शाहरुख खानको चिन्ता र खोजी अहिलेका लागि भने रोकिएको छ । उनले बलिउडका स्थापित निर्देशकमध्येका एक राजकुमार हिरानीसँग मिलेर काम गर्ने योजना बनाइसकेका छन । 

फिल्मवृत्तमा सार्वजनिक भएका खबरहरुका अनुसार चिन्तित र हताश शाहरुख खानलाई राजकुमार हिरानीले आफ्नो एउटा रोमान्टिक फिल्मका लागि अनुबन्ध गरिसकेका छन् । हिरानीले ‘मुन्ना भाई सिरिज, पीके, ३ इडियट्स र सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ जस्ता सफल फिल्म दर्शकमाझ ल्याइसकेका छन् ।

यसैकारण पनि लगातारका फ्लप फिल्मको झड्का लागेका शाहरुख खानले राजकुमार हिरानीसँग हात मिलाएका हुन् भन्ने अनुमान गरिएकाे छ । 

फिल्म ‘जीरो’ को असफलताले शाहरुखलाइ ठूलो झड्का लागेको थियो । यसै कारण उनले आगामी दिनमा नयाँ किसिमको भूमिकामा आफ्नो अभिनयको प्रयोग गर्न छोडिदिएका छन् । यसै कारण  शाहरुखले गएकाे वर्ष नै साइन गरिसकेको फिल्म ‘सारे जहाँ से अच्छा’ छोडिदिएका छन् ।

उनका निकट स्राेतका अनुसार अब शाहरुख खानले आफूले गुमाएको स्टारडम र आफ्ना फिल्मप्रति दर्शककाे उत्साहलाई फिर्ता नल्याउन्जेल अभिनय तथा भूमिकामा कुनै पनि नयाँ प्रयोग गर्ने छैनन् । 

पछिल्लाे केही समयदेखि शाहरुख र हिरानीबीच कैयौं भेटघाट भइरहेका छन । यी दुवै मिलेर एउटा प्रेम कथामा आधारित फिल्मको कहानीमा कुराकानी गरिरहेका छन् । रोमान्टिक फिल्मको मामलामा शाहरुख खानको छबिलाई अरु कसैले रिप्लेस गर्न सक्दैन, तसर्थ शाहरुखको यही छविको प्रयोग गर्दै हिरानी आफ्नो आगामी फिल्ममा नौलो तरिकाले प्रस्तुत गर्ने तयारी गरिरहेका छन् ।

खबरहरुका अनुसार शाहरुख र हिरानीबीच नयाँ प्रोजेक्टका सम्पूर्ण कुरामा छलफल गरेर टुुंगो लागिसकेको छ । 

हिरानीले याे रोमान्टिक फिल्मलाई आफ्नो छुट्टै ब्यानरमा रहेर बनाउनेछन् । यस पटक उनी यसअघिका पार्टनर विधूविनोद चोपडासँग मिलेर काम गर्नेछैनन् ।

शाहरुख खानको कम्पनी रेड चिल्लिज याे फिल्मको निर्माता बन्नेछ । शाहरुख खानले केही दिनअघि चीन भ्रमणका समयमा आफ्नो आउँदाे फिल्मका विषयमा जुन महिनामा घोषणा गर्ने बताएका थिए । अहिले शाहरुख र हिरानीको यस किसिमको खबर सार्वजनिक भएसँगै शाहरुखले छिट्टै नै आफ्नाे आउँदाे फिल्मकाे घोषणा गर्ने कुरा प्रष्ट हुन्छ ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया