किन यति धेरै विवाद र चर्चामा आयो धाेनीकाे पञ्जा ?

 जेठ २४, २०७६ शुक्रबार १८:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

विगतमा ‘कूल क्याप्टेन’ को छवि बनाएका विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी अहिले भारतीय कप्तान विराट काेहलीका महत्वपूर्ण 'सेना' हुन् । उनी अहिले अन्तिम विश्वकप खेल्दैछन् ।

धोनी विश्वका सफल कप्तानमध्येमा पर्छन् । कमै मात्रामा विवादमा आउने खेलाडीको रुपमा रहेका धोनी पछिल्लो पटक भने विश्वकपमा सुरुदेखि नै विवादमा तानिएका छन् ।

पाँच तारिखमा दक्षिण अफ्रिकाविरुद्धको खेलसँगै भारतले जारी विश्वकपको सुरुवात गरेको छ । त्यस म्याचमा धोनीले लगाएको विके किपिङ ग्लोब्स ‘पञ्जा’का कारण विवादमा परे । ४०औँ ओभरमा उनले युजवेन्द्र चहलको बलिङमा स्टम्पिङ गरेपछि उनको पञ्जाको चर्चा सुरु भएको हो ।

सामाजिक सञ्जालमार्फत सुरु भएको बहसमा आहिले आईसीसी र बीसीसीआईका साथै भारतका खेलकूद मन्त्री र पाकिस्तानसमेत जोडिन आइपुगेका छन् । सामाजिक सञ्जालमा चर्को बहस हुन थालेपछि आईसीसीले धोनीलाई पञ्जामा भएको चिन्ह हटाउन भनेको थियो । यस विषयमा धोनीले केही नभने पनि सबैले आ-आफ्ना तर्क राखेका छन् । 

धोनीको पञ्जामा के छ ?

विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा धोनीले भारतीय सेनाको बलिदान अंकित पञ्जा लगाएका थिए । त्याे लोगो  भारतीय सेनाकाे पारा स्पेसल फोर्सको हो । उनको पञ्जामा रहेको त्याे चित्र फेलुकवायोलाई स्टम्पिङ गर्दाको रिप्लेमा देखिएको थियो । लोगोमा देवनागरी लिपीमा ‘बलिदान’ लेखिएको छ । यस्तो लाेगो पारामिलिटरी कमान्डोले मात्र लगाउन सक्छन् ।

धोनीलाई सन् २०११ मा यो रेजिमेन्टको मानार्थ लेफ्टिनेन्ट कर्नेल पदवी दिइएको थियो ।

आईसीसीको नियममा के छ?

आईसीसीकाे नियमअनुसार जर्सी तथा खेल सामग्रीहरुमा कुनै प्रकारको राजनीतिक, धार्मिक वा जातीय सन्देश दिने खालका चिन्हहरु राख्न पाइँदैन।

आईसीसी भर्सेज बीसीसीआई

आईसीसीले बीसीसीआईलाई भनेर धोनीको पञ्जामा रहेको चिन्ह हटाउन भन्यो । तर बीसीसीआईले यो विवाद सल्टाउन सीईओ राहुल चौधरी इंग्ल्याण्ड जाने भएका छन् । त्यहाँ उनले आईसीसीसँग छलफल गर्नेछन् ।

यसअघि नै बीसीसीआईका प्रशासकीय समितिका अध्यक्ष विनोद रायले आईसीसीलाई पत्रमार्फत जवाफ पठाएका बताएका थिए । उनले भनेका थिए ‘पत्रबारे चाँडै निर्णय हुन्छ ।’ उनले धोनीलाई यो पञ्जा लगाउनबाट रोक नलगाउने आश्वासन पाएको पनि बताएका छन् । यो लोगो धार्मिक नभई व्यापारिक रहेको दाबी पनि बीसीसीआईले गरेको छ ।
 
भारतीय मिडियाको दलील

महेन्द्रसिंह धोनीको पञ्जाको प्रकरण सार्वजनिक भएपछि भारतीय सञ्चारमाध्यमहरुले पनि पाकिस्तानी खेलाडीले नमाज पढेको फोटो राखेर समाचार प्रकाशित गरेका छन् ।

विभिन्न भारतीय सञ्चारमाध्यमहरुले ३० मार्च २०११ को फोटो सार्वजनिक गरेका हुन् । त्यतिबेला भारतविरुद्धको खेलअघि पाकिस्तानी खेलाडीले मैदानमै नमाज पढेका थिए ।

त्यस्तै सन् २०१४ मा भारतविरुद्धकाे टेस्ट शृङ्खलामा इंग्ल्याण्डका माेइन अलीले 'सेभ गाजा' र 'फ्री प्यालेस्टाइन' लेखेकाे फिता हातमा बाँधेका कारण विवादमा तानिएका थिए ।

यसअघि भारतीय खेलाडीले कश्मीरकाे पुलवामा आक्रमणपछि  इंग्ल्याण्डसँगकाे खेलमा भारतीय सेनाले लगाउने क्याप लगाएका थिए । उनीहरुले कश्मीर आक्रमणमा परि ज्यान गुमाउने सुरक्षाकर्मीकाे सम्मानमा आफूहरुले त्यस्ताे क्याप लगाएकाे बताएका थिए ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया