आफ्नै ठाउँमा काम पाएपछि दंग, प्रधानमन्त्री भन्नुहुन्छ : अब कोही पनि विदेश जानु पर्दैन

 जेठ २४, २०७६ शुक्रबार १८:२६:३१ | उज्यालो सहकर्मी

भक्तपुर – प्रधानमन्त्री रोेजगार कार्यक्रम लेखिएको ज्याकेटमा सजिएका सयौँ युवाहरु हातमा टाउकोमा हेल्मेट र हातमा बेल्चा बोकेर मुस्कानसहित सडक निर्माणको लागि खटिए ।

सन्दर्भ हो भक्तपुरमा सुरु भएकाे प्रधानमन्त्री रोजगार कार्यक्रमको । प्रधानमन्त्री केपी शर्मा ओली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कटुञ्जे तीनधारा सडक निर्माण कार्यक्रमको उद्घाटन गर्दै सूचीकृत कामदारलाई साबेल, पिक लगायतक औजार दिनुभयो । त्यसपछि रोजगारको लागि छनाेट भएका मजदुर कटुञ्जे सुवर्णचोकबाट तीनधारा जाने सडक निर्माणमा जुटे ।

यो कार्यक्रम भक्तपुरका चारवटै नगरपालिका सूर्यविनायक, मध्यपुर थिमी, चाँगुनारायण र भक्तपुर नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विदेशमा युवाहरु भौ‌तारिरहेका बेला देशमा यस्तो कार्यक्रम सुरु हुनु सकारात्मक भएको बताउनुभयो ।

ओलीले भन्नुभयो, ‘रोजगारीका लागि विदेशमा ४० लाख युवाहरु भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेहरुलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।’

काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देशमै रोजगारी दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको बताउँदै देशमा अब कोही पनि भोकै बस्नु पर्ने र भोकले मर्नु पर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउदै चालु आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम संचालन भए पनि आगामी वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिनेगरी देशैभरी यो कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको पनि बताउनुभयाे ।

प्रधानमन्त्री युवा रोजगार कार्यक्रको लागि आफू छनौट भएपछि त्यहाँ पुग्नुभएकी ६५ वर्षीया  धनमती श्रेष्ठ निकै नै खुसी देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘आफूले पढेलेखेको केही पनि छैन, बेल्चा लाउन त जति पनि सकिहालिन्छ नि ।’ 

यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेश जानबाट रोक्ने अर्का युवा दिपेश बाजगाईँले बताउनुभयो । उहाँले भन्नभयो, ‘यो एकदमै राम्रो कार्यक्रम हो । यसले हामीहरु जस्ता युवाहरुलाई नेपालमा काम नपाएर विदेश पलायन हुनबाट रोक्नेछ ।’

कार्यक्रममा उपस्थित सबैमा नयाँ उर्जा र उत्साह देखिन्थ्यो । त्यस अवसरमा प्रतिनिधिसभाका सांसद एवं पूर्व मन्त्री महेश बस्नेतले सरकारले रोजगार कार्यक्रमका लागि भक्तपुरका चारवटा नगरपालिकामा २ करोड ४६ लाख रुपैयाँ बजेट पठाएको जानकारी दिनुभयाे । 

उहाँले आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने बताउनुभयो । 

सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाहरुको तथ्यांक अनुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दि‌दै उहाँले कृषिमा मात्रै १२ लाख, भवन निर्माणको क्षेत्रमा ७ लाख भन्दा बढी युवालाई रोजगार दिन सकिने बताउनुभयो ।  

प्रदेश नं. ३ का प्रदेश सदस्य सांसद रजनी जोन्छे, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव महेश्वर दाहाल, चाँगुनारायण प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका प्रमुख बासुदेव थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले यो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको चर्चा गर्नुभयो ।

कार्यक्रमबाट भक्तपुरका करिब ७ सय ५० बेरोजगार युवाले रोजगारी पाएका छन् । करिब १ हजार ५ सय युवाहरुले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका  थिए ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया