खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन: मन्त्री मगर

 जेठ २५, २०७६ शनिबार १४:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खानेपानी मन्त्री विना मगरले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शत प्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन संकल्प लिएर मन्त्रालय अघि बढेको बताउनुभएको छ ।

नेपाल नगरपालिका संघले शनिबार काठमाण्डौको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर शत प्रतिशत जनतालाई आधारभूतस्तरको खानेपानीको सुनिश्चितता गर्न दृढ संकल्पका साथ अघि बढेको बताउनुभएको हो । 

मन्त्री मगरले सबै जनतामा खानेपानीको पहुँच पुर्‍याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औंँल्याउनुभयो । आउँदाे आर्थिक वर्षमा ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहे पनि सबैसँगको सहकार्यमा मात्र लक्ष्य पूरा गर्न सकिने उहाँको भनाइ छ ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भन्नुभयो, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्‍याउनुपर्ने चुनौती छ भने अर्कोतिर पूर्ण सरसफाइको कार्यक्रमलाई पनि सँगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन सक्दैन । बढ्दो जनसंख्या र शहरीकरणका कारण हाम्रो वातावरण दिनदिनै दूषित हुँदै गइरहेको छ । सरसफाइ अभियानलाई पनि हामीले उत्तिकै प्राथमिकता दिएर अगाडि बढाउँदैछौँ ।’

मन्त्रालय आउँदो आर्थिक वर्षमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा जुटेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री मगरले ‘हामी दिसाजन्य लेदो व्यवस्थापन गर्न प्रतिबद्ध छौं, तपाइँ नि?’ भन्ने अभियानलाई साथ दिंदै हस्ताक्षर गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाइका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो पनि गर्नुभयो । खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।  

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया