प्रसिद्ध भारतीय अभिनेता तथा नाटककार गिरीश कर्नाडको निधन

 जेठ २७, २०७६ सोमबार १२:३०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ । ८१ वर्षको उमेरमा उनको निधन भएको हो ।

गिरीश कर्नाडले सन् १९७० मा कन्नड फिल्म ‘संस्कार’ बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए । 

उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । दूरदर्शनले प्रसारण गरेको यो सिरियल आजको दिनमा पनि उत्तिकै चर्चित रहेको छ । 

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो ।उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको चलचित्र ‘आफ्नो देश’ थियो । जुन गएको अगष्ट २६ मा रिलिज भएको थियो । त्यस्तै बलिउडमा भने ‘टाइगर जिन्दा हे’ नै उनको अन्तिम चलचित्र थियो । सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए । 

उनका पसिद्ध कन्नड चलचित्रमा ‘तब्बालियू मगाने’, ‘ओंदानोंदु कलादाली’, ‘चेलुवी’, ‘कादु’लगायतका रहेका छन् । 

त्यस्तै हिन्दीमा ‘निशान्त’, ‘मन्थन’, ‘पुकार’ ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा हे’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कर्नाड कन्नड तथा अंग्रेजी दुवै भाषामा पोख्त थिए । उनले पहिलो नाटक कन्नड भाषामा लेखेका थिए । पछि त्यसलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए । साथै उनका नाटक ‘ययाति’, ‘तुगलक’, ‘हयवदन’, ‘नागमण्डल’ लगायत रहेका छन् ।

उनको नाटक ‘ययाति’ नेपालमा समेत मञ्चन भएको थियो । 

नाटकमा 'ययाति’ को यौवन लिप्सा मात्र होइन, चित्रलेखाको प्रेमाकांक्षा, असुरकन्या शर्मिष्ठाको आत्मपीडन तथा दमित इच्छालाई पनि प्रस्तुत गरिएको छ । नेपाली नाटककार टंक चौलागाईँले यसलाई नेपाली भाषामा अनुवाद तथा निर्देशन गरेका थिए । 

गिरीश कर्नाडले सन् १९९४ मा साहित्य अकादमी पुरस्कार, सन् १९९८ मा ज्ञानपीठ पुरस्कार, सन् १९९२ मा पद्म भूषण, तथा सन् १९९८ मा कालिदास सम्मानजस्ता पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । 

गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया