के होला प्रदेश प्रमुखको पद ? यस्तो छ प्रावधान

 असार २१, २०७५ बिहीबार १३:१२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले गएको भदौपछि भएका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै सातै प्रदेशमा नियुक्त भएक प्रदेश प्रमुखको पद के होला भन्ने जिज्ञासा उब्जिएको छ । 

मन्त्रिपरिषदको बुधबारको बैठकले पूर्ववर्ति सरकारले भदौपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । 

यो निर्णयसँगै अब ती प्रदेश प्रमुखहरु हटाइन्छ कि भन्ने चर्चा चल्न थालेको छ । तर कानूनविद् रेवतीरमण भण्डारीका अनुसार सरकारको यो निर्णय प्रदेश प्रमुखको पदावधिमा आकर्षित नहुने बताउनुहुन्छ ।  

‘प्रदेश प्रमुख पद संवैधानिक पद हो’, उहाँले भन्नुभयो ‘प्रदेशप्रमुख सरकारले नियुक्त गरेको नभई राष्ट्रपतिले नियुक्त गरेकाले सरकारको यो निर्णय अरु नियुक्ति सरह आकर्षित हुँदैन ।’

प्रदेश प्रमुखहरुको नियुक्ति र बदर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । ‘यसरी मन्त्रिपरिषद्को निर्णयबाट मात्रै प्रदेश प्रमुखहरु हट्न सक्दैनन्’, उहाँले भन्नुभयो, ‘त्यसका लागि सरकारले सातै प्रदेशका प्रदेश प्रमुख हटाउनु पर्ने कारण सहित राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ ।’ 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति बदरको सिफारिस गरेमा भने राष्ट्रपतिले त्यसलाई सदर गर्नुपर्नेछ । 

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ । सरकारको सिफारिस राष्ट्रपतिले स्विकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ ।

पूर्ववर्ति शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ ३ गते सातै प्रदेशका प्रमुख नियुक्त गर्नुभएको थियो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ल प्रदेश प्रमुख हुनुहुन्छ । 

प्रदेश २ का कायस्थ र प्रदेश ५ का झा बाहेक बाँकी सबै कांग्रेस निकट हुन् । कायस्थ र झा कांग्रेससँगको तत्कालीन ‘पावर सेयरिङ’का कारण मधेस केन्द्रित दलहरुको कोटाबाट प्रदेश प्रमुख हुन सफल भएका हुन् । 

सरकारले निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठनहुनुअघिका सबै राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको हो ।  


 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया