अर्थ मन्त्रालयले ‘म केही पनि काम गर्न सक्दिनँ’ भनेर प्रधानमन्त्रीलाई सबै जिम्मेवारी सुम्पियाे : छाया अर्थमन्त्री रिजाल

 जेठ २८, २०७६ मंगलबार १७:३३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्थ मन्त्रालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘विनियोजन विधेयक २०७६ अन्तर्गत अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित खर्च रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाँले अर्थ मन्त्रालयले जिम्मेवार ढंगले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको बताउनुभएको हो ।  

अर्थ मन्त्रालयले ‘म केही पनि काम गर्न सक्दिनँ’ भनेर प्रधानमन्त्रीलाई नै सबै जिम्मेवारी लगाउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले साढे ८ प्रतिशत आर्थिक वृद्धिका लागि बलियो आधारबाट योजना निर्माण गर्नुपर्ने जिम्मेवारी अर्थ मन्त्रालयले बहन गर्न नसकेको बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्रीसमेत रहेका सांसद रिजालले विदेशी देशले विगतमा अबलम्बन गरेको आर्थिक नीति र तीनले भोग्नुपरेको परिणामको चर्चा गर्दै सरकारलाई विश्व इतिहासलाई सम्झन आग्रह गर्नुभयो । अधिकारको केन्द्रिकरणले सोभियत युनियन इतिहासको पन्नामा सीमित भएको भन्दै उहाँले अधिकारको केन्द्रिकरणले देशलाई विकासको बाटोमा नभई पतनको बाटोमा डोर्‍याउने दाबी गर्नुभयो ।

तन्द्रामा बसेर देशको विकास नुहने भन्दै उहाँले वस्तुस्थितिको विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, 'आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ । ग्यासको सिलिण्डर नै किन्नु पर्दैन भन्ने जस्ता तन्द्रामा हिँडेर देशको विकास हुदैन । तन्द्रामा बसेर नेपालमा स्टिमर मात्र होइन नेपालमा ठूला-ठूला पानी जहाज चलाउँछु अनि हिन्द महासागरसम्म अघिगएकै वर्षमा पुर्‍याउँछु भनेर तन्द्रा बोलेर विकास हुँदैन  ।'

उहाँले अर्थ मन्त्रालयका लागि चालु खर्चमा विनियोजन भएको बजेटबाट ४ करोड ८६ लाख घटाई अघिल्लो वर्षकै बराबर राख्न प्रस्ताव गर्नुभयो ।  

गुठीसम्बन्धी विधेयकको सन्दर्भमा उहाँले धर्म निरपेक्ष भनेको धार्मिक स्वतन्त्रता भएको भन्दै त्यसलाई भत्काउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, 'कुनै समय ठूलै नेताले इन्द्रजात्राको खर्च कटाउनुभो । ठूलो विरोध भयो । पछि त्यो इन्द्रजात्राको खर्च फिर्ता गर्नुपर्यो । काठमाण्डौको र हाम्रो देशको रितिथिति, संस्कृति र परम्परालाई भत्काउने गरी गुठी सम्बन्धी विधेयक बोकेर नआउनुहोस् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया