धरानमा डेंगु प्रभावितको संख्या ४ सय नाघ्यो, विराटनगरमा २ जनामा संक्रमण

 जेठ २९, २०७६ बुधबार ९:३६:० | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – धरानमा देखिएको डेंगु नियन्त्रणमा आउन सकेको छैन । गएको वैशाख २९ गतेदेखि देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । डेंगु नियन्त्रणमा लिने प्रयास पनि जारी रहेको छ ।  

मंगलबार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको  जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो । सोमबारसम्म ३६८ जनामा संक्रमण देखिएकोमा मंगलबार कति थपिए भन्ने विवरण प्राप्त नभएकाले झण्डै चार सय जनामा डेंगुको संक्रमण देखिएको प्रसाईले जानकारी दिनुभयो ।

धरानमा अहिले देखिएको डेंगु नियन्त्रणमा लिनको लागि धरानलाई महामारीको रुपमा घोषणा गरेर अघि बढ्न चिकित्सकले सुझाव दिएका छन् । धरानमा मात्र एकै दिनमा ५० जना भन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ ।

सचेतनाको हिसाबमा निक्कै प्रभावकारी काम भए पनि संक्रमणको दर नरोकिएको प्रसाईले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीले ३ जना कर्मचारी २४ सै घण्टा कार्यस्थलमा खटाएको जनाएको छ । त्यस्तै धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको टोली तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ टोली पनि हरेक दिन प्रभावित स्थलमा नै हुने गरेको छ ।

श्रोत र साधनको अभावका कारण केही समस्या देखिएपछि प्रदेश सरकारसँग माग गरिएको प्रसाइले जानकारी दिनुभयो । अब विद्यार्थी तथा स्वास्थ्य स्वयम सेविकालाई समेत परिरचालन गरेर अभियानलाई थप प्रभावकारी बनाउने बारेमा काम भैरहेको उहाँले बताउनुभयो ।

डेंगुको प्रकोप उच्च बिन्दुमा रहेको भए पनि नियन्त्रण बाहिर भने गई नसकेको विज्ञ टोलीले जनाएको छ ।  एउटै समयमा एउटै ठाउँमा धेरै मान्छेलाई संक्रमण भएको अवस्थामा त्यो समस्याको रुपमा रहने विज्ञरुको भनाइ छ । 

अन्य क्षेत्रहरुमा पनि डेंगु संक्रमितको संख्या बढेको छ ।  इटहरीमा ४ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिनुभयो ।  उहाँका अनुसार विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका एक ब्यक्तिमा  डेंगु पुष्टि भएको हो ।  

डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ । यस्तै मोरङको बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन् । योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेंगु नियन्त्रणमा पहिचान गर्ने तयारी भएको जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका भित्र डेंगु नियन्त्रणका लागि ‘मालाथिन फगी स्प्रे’ गर्न आजदेखि सुरु हुने भएको  छ । महानगरले जेठ २९ गते वडा नम्बर १, २, ३, र १० मा , ३० गते १, ३, ४, र १० मा, ३१ गते ४, ५, ६ र ७ मा, ३२ गते ५, ६, ८ र ९ मा, यसैगरी असार १ गते ८, ९, ११, र १२ मा, २ गते ११, १२, १३, र १४ मा, ३ गते १४, १५, १६ र १७ मा र ४ गते १८, १९ मा मालाथिन फगी स्प्रे गर्ने कार्यक्रम तय गरेको छ । यसका लागि नगरबासीलाई खाने कुरा छोपेर राख्न पनि महानगरले आग्रह गरेको छ ।

डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि महानगरले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया