गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदाे आर्थिक वर्षबाट सुरु हुने

 जेठ २९, २०७६ बुधबार १६:५७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आउँदाे आर्थिक वर्षबाट सुरु गर्ने स्पष्ट पारेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्र विन्दु रहेको बारपाकमा भूकम्प स्मारक बनाउने काम आउँदाे आर्थिक वर्षबाट सुरु गर्नेगरी बजेटको व्यवस्था गरिएको जानकारी दिनुभएको हो ।

बुधबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले त्यसका लागि आवश्यक पानी, बाटो, पाटीपौवालगायतका पूर्वाधार निर्माणको कामलाई हाल प्राधिकरणले तीव्रता दिइरहेको पनि स्पष्ट पार्नुभयो । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पानीको स्रोतको व्यवस्थापनमा कठिनाइ भएकाले पनि  पार्क निर्माणको कामलाई अघि बढाउन ढिलाइ भएको पनि स्पष्ट पार्नुभयो ।

प्राधिकरणले भूमिहीनहरुको पुननिर्माणको कामलाई अघि बढाउन २ लाख नगद वा उनीहरुले चाहेको ठाउँमा जग्गाको लालपूर्जा उपलब्ध गराउने कामलाई पनि अघि बढाइएको जनाएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूमिहिनलाई जग्गा उपलब्ध गराएर पुनर्निर्माणको कामलाई अघि बढाउन आवश्यक कार्यविधि तय गरिएको र त्यसलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्राधिकरणका अनुसार हालसम्म ८ सय जनाले पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन माग गर्दै प्राधिकरणमा उजुरी दिएका छन ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राचीन मौलिकता नहराउने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाएको दावी पनि गर्नुभयो । उहाँले २ वर्षभित्र धरहरा पुननिर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको पनि समितिलाई जानकारी गराउनु भयो ।

प्राधिकरणले समितिलाई बुझाएको कार्य प्रगति विवरणमा निजी आवास पुनर्निर्माणको कामलाई चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने दावी गरिएको छ । त्यसैगरी सम्पदाहरुको पुननिर्माणको कामलाई तीव्रता दिन सुरु गरिएको पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले भूकम्प पीडितहरुको जीविकोपार्जनको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढाउन प्राधिकरणलाई सचेत गराएका थिए ।

अन्तिम अपडेट: साउन ७, २०७६

तपाईको प्रतिक्रिया