सलमान खानको लागि रोहित शेट्टीले 'सूर्यवंशी' को प्रदर्शन मिति पछि सारे

 जेठ २९, २०७६ बुधबार १९:१९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० को इदको अवसरमा अभिनेता सलमान खान र अक्षय कुमारको चलचित्र जुध्ने पक्का थियो । तर हालै सार्वजनिक खबर अनुसार, यी दुई अभिनेताबीचको टक्कर टरेको छ । 

बलिउडका खेलाडी अक्षय कुमार अभिनित फिल्मका निर्देशक रोहित शेट्टीले सलमान खानका कारण चलचित्र ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गरिदिएका छन् । 

अभिनेता सलमान खान १२ वर्षपछि सञ्जय लीला भन्सालीसँगै चलचित्र ‘इन्शाअल्लाह’ मा काम गरिरहेका छन् । चलचित्रमा सलमान खानको जोडीको रुपमा अभिनेत्री आलिया भट्ट हुनेछिन् । 

‘इन्शाअल्लाह’ का निर्माताहरुले चलचित्रको प्रदर्शन मिति सन् २०२० को इदमा तय गरिसकेका छन् । यस कारण सलमान खान इदकै अवसरमा रिलिज हुने भनिएको फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मिति परिवर्तन गराउने कोसिसमा थिए । 

सलमान खानको अनुरोधपछि ‘सूर्यवंशी’ का निर्देशक रोहित शेट्टीले आफ्नो चलचित्रको प्रदर्शन मिति परिवर्तन गरेका छन् । त्यसपछि सलमान खानले सामाजिक सञ्जाल ट्विटरमार्फत रोहित शेट्टीलाई धन्यवाद दिँदै ‘सूर्यवंशी’ काे नयाँ मिति सार्वजनिक गरेका छन् । 

सलमानले लेखेका छन् ‘म सधैँ सोच्थेँ, उ मेरो सानो भाइ हो र अहिले उसले त्यो कुरा सावित गरिदिएको छ । ‘सूर्यवंशी’ २०२० मार्च २७ मा रिलिज हुनेछ ।’ 

’सिंघम’ सिरिजको चौथो चलचित्र ‘सूर्यवंशी’ सन् २०२० मार्च २७ मा प्रदर्शन हुनेछ । रोहित शेट्टीको यो चलचित्रमा अक्षय कुमारका साथै कट्रिना केफको पनि मुख्य भूमिका हुनेछ । 

अक्षय कुमारले यो चलचित्रमा प्रहरीको भूमिका निर्वाह गर्नेछन् । रोहित शेट्टीको निर्देशनमा बन्ने ‘सूर्यवंशी’ को निर्माण करण जोहरले गर्नेछन् । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया