अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – उपचाररत बिरामीको मृत्युपछि चावहिलस्थित ओम अस्पताल तनावग्रस्त भएको छ ।
चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त भएको हो । अहिले अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
गएको शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएकी ५० वर्षीया रामप्यारी थापा मगरको बिहीबार बिहान मृत्यु भएको हो । डाक्टर रविन कोइरालाले थापाको शल्यक्रिया गर्नुभएको हो ।
अस्पतालको लापर्वाहीले मृत्यु भएको आफन्तको आरोप
शल्यक्रियाका क्रममा सानो आन्द्रामा प्वाल पारिएको र त्यसलाई नटाली बाहिरको तह टालेपछि आन्द्राबाट फोहोर लिक भई शरीरभरि फैलिएको र इन्फेक्सनका कारण बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
बिरामी रामप्यारी आफै हिँडेर गएको बिहीबार जाँचका लागि ओम अस्पतालमा पुग्नुभएको थियो । जाँचका क्रममा चिकित्सकले पित्तथैलीमा पत्थरी भएको र अप्रेशन गर्नुपर्ने बताएपछि उहाँ त्यसको भोलिपल्ट अस्पताल भर्ना हुनुभयो ।
अस्पताल भर्ना हुने दिन पनि रामप्यारीले घर परिवारलाई खाना खुवाएर उहाँ भने खाली पेट नै अस्पताल जानुभएको उहाँका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठले बताउनुभयो ।
अस्पतालमा भर्ना भएकै दिन बेलुका उहाँको अप्रेशन भएको र चिकित्सकले पनि अप्रेशन सहज सम्पन्न भएको बताएको सम्झनुहुन्छ श्रेष्ठ । तर अप्रेशन गरेको बिरामी ठिक हुनुको सट्टा झनै सिकिस्त हुँदै गएपछि आफन्तले चिकित्सकसँग जानकारी मागेका थिए ।
डा.कोइरालाले अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल परेको र त्यसलाई नटाली बाहिरी छालामात्रै टालेकाले समस्या आएको आफन्तको आरोप छ । आन्द्रामा प्वाल पर्दा विकार पदार्थ त्यही प्वालबाट निस्केर शरीरभरि फैलँदा ठिक हुनुको सट्टा बिरामीको अवस्था झनझन बिग्रिएको आफन्तले दाबी गरेका छन् ।
आन्द्रामा प्वाल परेर अवस्था बिग्रिएपछि डा.कोइरालाले फेरि अर्को अप्रेशन गर्नुभएको थियो । शुक्रबार पित्त थैलीको अपरेशन भएको बिरामीको आइतबार डेढ मिटर आन्द्रा काट्ने काम भयो । अप्रेशनपछि मलद्वारमा जाने आन्द्रालाई पेटबाट निकालेको आफन्तको भनाइ छ । त्यसपछि बिरामीको अवस्था नाजुक हुँदै गएकाले अस्पतालले बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार अगाडि बढाएको थियो ।
चिकित्सकले बिरामीको अवस्थामा कहिले धेरै सुधार भएको र कहिले सुधार हुन नसकेको भन्दै आफूहरुलाई आजसम्म झुलाउँदै आएको आफन्त खड्गबहादुर श्रेष्ठले बताउनुभयो । अस्पतालले बिहीबार (आज) बिहान ७ बजेतिर तपाईँहरुको बिरामी रहनु भएन भनेर जानकारी दिएको उहाँले बताउनुभयो ।
अस्पतालको लापर्वाहीले आफूहरुले आफन्त गुमाउनु परेको भन्दै लापर्वाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
अस्पतालले गल्ती स्वीकारेन
अस्पतालले भने बिरामीको अवस्था पहिले नै खराब भएको बताएको छ । ‘महिलाको पहिला नै पाठेघरको तीन पटक अप्रेशन भैसकेको रहेछ । अप्रेशन गर्नुभन्दा पहिला नै आफन्तलाई जोखिम हुन्छ भनेर भनेका थियौँ’, अस्पतालका निर्देशक केपी देवकोटाले बताउनुभयो ।
शनिबार राति बिरामीलाई गाह्रो भएपछि आईसीयूमा सारिएको बताउँदै निर्देशक देवकोटाले भन्नुभयाे,‘आइतबार टाँका खोलेर हेर्दा फोहोर वस्तु निस्किएपछि आन्द्रामा इन्फेक्सन भएको रहेछ । त्यसपछि आन्द्रालाई काटेर जोड्न सकिन्छ भनेर अप्रेसन गरिएको हो । त्यस पछि पनि बिरामीको अवस्थामा सुधार आएन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।