ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
बझाङ - सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा गंगा दशहरा मेलाको रौनक छाएको छ ।
खप्तडमा शनिबारदेखि गंगादशहरा मेला (जात्रा) सुरु भएसँगै यस क्षेत्रमा हिन्दू धर्मावलम्बी तथा पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा थप रौनक छाएको हो ।
प्रत्येक वर्ष जेठ शुक्ल दशमीको दिनमा गंगा दशहरा मेला लाग्ने गर्दछ। खप्तडमा रहेको त्रिवेणीमा स्नान गर्नाले मानिसहरु गरेका सबै पापहरु नाश भएर जाने धार्मिक विश्वास गरिँदै आएको छ ।
गंगा दशहराको दिन गंगाबाट ल्याएको जल वर्षभरी बिग्रँदैन र यस तिथिमा गंगा स्नान गर्नाले मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको स्थानीय पण्डित चित्रराज जोशीले बताउनुभयाे । गंगा दशहराको दिन पुण्य प्राप्तिका लागि पवित्र गंगाको किनारामा अवस्थित विभिन्न तीर्थस्थलमा गएर दर्शन तथा स्नान गर्ने प्रचलन समेत छ ।
गंगा दशहरा मेलामा विभिन्न संघ संगठनहरुले विविध कार्यक्रमहरुकाे आयोजना गरिरहेका छन् । डोटी उद्योग वाणिज्य संघले बर्सेनि आयोजना गर्दै आएको गंगादशहरा मेलामा खुला पुरुष भलिबल, घोडा दौड र सुदूरकै संस्कृतिको रुपमा चिनिएको डेउडा प्रतियोगिता यस वर्ष पनि पनि आयोजना गरिएको छ ।
अघिल्ला वर्षभन्दा याे वर्ष खप्तड जाने तीर्थयात्री तथा पर्यटकहरुको संख्या बढेको खप्तड छान्ना गाउँपालिका-३,मेल्तडीका स्थानीय मेख बहादुर रावलले बताउनुभयाे ।
बझाङ हुँदै आउने पर्यटकका लागि बाटो छोटो र या आरामदायी हुने भए पनि पर्याप्त प्रचार प्रसार हुन सकेको छैन । प्रत्येक बर्ष लाग्ने गंगादशहरा मेलामा झण्डै २० हजार तीर्थालु तथा पर्यटकहरुले खप्तड पुग्ने अनुमान गरिएको छ । । सुदूरपश्चिम प्रदेशका पहाडका चार जिल्लाहरु बाजुरा, बझाङ्ग, अछाम र डोटीको केन्द्र बिन्दुमा पर्ने खप्तड नेपालकै सुन्दर पर्यटकीय क्षेत्रहरु मध्येको एक हो ।
भू-स्वर्गका रुपमा समेत वर्णन गरिएको खप्तड प्रकृतिको अनुपम उपहार हो .। यहाँ आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीबिरंगी फूलले ढकमक्क हुने भएकाले धार्मिक हिसाबले मात्रै नभइ पर्यटकीय हिसाबले पनि यसको महत्व धेरै रहेकाे स्थानीय जानकारहरु बताउँछन् ।
२२ पाटन र ५२ झोती रहेको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउन पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटनजस्ता धार्मिक स्थलहरुका कारण पर्यटकका लागि आर्कषककाे केन्द्रविन्दु बनेकाे छ ।
पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यस क्षेत्र पुराणमा समेत ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्।
पौराणिक कालमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको किम्वदन्ती रहेको छ । खप्तडमा भिमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ । यस वर्ष दशहरा मेलालाई व्यवस्थित बनाउन जाँड रक्सी पूर्णरुपमा बन्देज गरिएको छ ।
नागरिकहरुलाई स्वस्थ्य उपचारमा सहज बनाउन नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना समेत गरिएको छ । खप्तड क्षेत्र ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तड बाबाको आगमनपछि स्थानीयले तत्कालीन राजा वीरेन्द्रलाई आग्रह गरेपछि २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।