संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने यादवकाे चेतावनी

 जेठ ३०, २०७६ बिहिबार १८:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिनु भएको छ । 

उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिनुभएको हो ।

बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथमा रहेकाे निर्वाचन आयोगको कार्यालय पुग्नुभएका उहाँले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको पनि बताउनु भयो ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमतिपछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो । त्यही सहमति कार्यान्वयन गरेर अघि बढ्दा देश र जनताको हित हुने अध्यक्ष यादवको दावी छ ।

 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया