इमोबाट चिठ्ठा परेको भन्दै ठगी गर्ने दुईजना विराटनगरबाट पक्राउ

 जेठ ३०, २०७६ बिहिबार १८:३६:२८ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - इमो मार्फत ठगी गर्ने दुई जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।

गएकाे पुस १५ गते चिट्ठा परेको छ भनी ठगी गर्ने २ जनालाई पक्राउ बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हो । पक्राउ पर्नेमा एकजना विराटनगर महानगरपालिका र एकजना धनपालथान गाउँपालिकाका रहेका छन् । 

यस्तो छ घटनाको प्रकृति

इलामको माई नगरपालिका वडा नम्बर-८ बस्ने पासाङ शेर्पालाई एक अपरिचित व्यक्तिले इमो मार्फत म्यासेज पठाएर तपाइँलाई २५ लाख रुपैयाँ चिट्ठा परेको छ भनी फोन गरे । तर उनलाई त्याे रकम लिनको लागि ४५ हजार रुपैयाँ जम्मा गर्नु पर्ने शर्त राखियाे ।

त्यस बापत लाग्ने रकम पासाङको ग्लोबल आईएमइ बैंकको खातामा पठाइ दिनु भनेपछि शेर्पाले रकम पठाइ दिए । ती अपरिचित व्यक्तिले करिब एक घण्टापछि फेरि फोन गरेर कम्प्युटरमा लक लागेको छ, अरु ७५ हजार पठाइदिन भनेपछि शेर्पाले त्यो रकम पनि पठाइदिए ।

उनले एकैदिन माग गरिए अनुसारको एकलाख २० हजार रुपैयाँ पठाएपछि चिट्ठा पर्‍याे भन्ने व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि शेर्पाले  जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे ।  

शेर्पाले दिएको उजुरीका आधारमा  प्रहरीले ठगी गर्ने उद्देश्यले रकम पठाउन खाता नम्बर उपलब्ध गराउने विराटनगर महानगरपालिका ११ बस्ने वर्ष २३ को निरज मरिकलाई पक्राउ गर्यो । बुधवार पक्राउ परेका मरिकसँगको प्रारम्भिक अनुसन्धानको क्रममा मरिकको नाममा रहेको खाता नम्बरमा रकम पठाउन लगाउने व्यक्ति मोरङकै धनपालथान गाउँपालिका-६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई बिहीबार नै पक्राउ गर्यो ।

पक्राउ परेका दुई जनाकाे साथबाट विभिन्न व्यक्तिकाे नागरिकता तथा व्यक्तिगत परिचय पत्रका प्रतिलिपीहरूसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयाे ।

श्रवण मलाह गएकाे पुस २६ गते पनि इमोबाट ठगीको काण्डमा पक्राउ परेका व्यक्ति रहेकाे प्रहरीले जनाएकाे छ  । विराटनगर महानगरपालिका ७ हाटखोलाबाट इमो मार्फत ३० हजार रकम ठगी गरेको अभियोगमा पक्राउ गरी अनुसन्धानपछि मोरङ जिल्ला अदालतले गएकाे माघ २२ गते मलाहलाई दुईलाख धरौटीमा छाडेको थियो ।

पक्राउ परेका व्यक्तिको सम्बन्धमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूर अन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताउनुभयाे ।

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया