संसदीय समितिले गुठी विधेयक सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने

 जेठ ३१, २०७६ शुक्रबार १४:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ । 

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार सिंंहदरबारमा बसेको बैठकले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने निर्णय गरेको हो । गुठी विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित सरोकारवाला निकायहरुले सरकारलाई दबाब दिइरहेका बेला त्यससम्बन्धी तथ्यहरु बाहिर ल्याउने गरी विज्ञहरुसँग छलफल गर्ने निर्णय गरिएको समितिकी सभापति पूर्णाकुमारी सुवेदीले जानकारी दिनुभयो ।

समितिको आउँदाे साता बस्ने बैठकमा विज्ञहरु केशव बडाल, जगत बस्नेत, कृष्ण पौडेल, जगत देउजा, जनकराज जोशी, महेन्द्र श्रेष्ठ र प्रकाश जोशीसँग विधेयकका सम्बन्धमा छलफल गर्ने समितिको निर्णयमा उल्लेख गरिएको छ ।

समितिले भूमिसम्बन्धी आठौंँ संशोधन विधेयक आउँदाे आइतबार असार १ गते बिहान बस्ने बैठकमा छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ । त्यसैगरी असार २ गते सोमबार अपरान्ह ३ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने कार्यतालिका पनि तय गरिएको समितिकी सभापति सुवेदीेले बताउनु भयो ।

समितिले मंगलबार असार ३ गते बिहान साढे ८ बजे वातावरण संरक्षण विधेयकमाथि छलफल गर्ने, असार ४ गते बुधबार अपराह्न ३ बजे वातावरण संरक्षणसम्बन्धी विधेयकमाथि दफावार छलफल अघि बढाउने तथा असार ५ गते बिहीबार बिहान वन र असार ६ गते शुक्रबार अपरान्ह ३ बजे भूमिसम्बन्धी आठौँ संशोधन विधेयकमाथि दफावार छलफल सुरु गर्ने पनि जनाएको छ ।

समितिमा तीन वटा विधेयक पेश गरिएको छ । ती सबै विधेयकमाथिको छलफल आउँदाे हप्ताभित्र सम्पन्न गर्नेगरी कार्यतालिका तय गरिएको पनि समितिकी सभापति सुवेदीले बताउनु भयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया