विश्वकप क्रिकेट: वर्षाले पटक पटक बिथाेलेपछि साेचेभन्दा कम रोमाञ्चक

 जेठ ३१, २०७६ शुक्रबार १४:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता इंग्ल्याण्डमा जारी छ ।

जति सोचिएको थियो त्यसभन्दा निकै कम मात्र यस पटकको विश्वकप भिडन्त रोमाञ्चक बनेको छ । किनभने हरेक दिन जसो इंग्ल्याण्डको मौसमले धोका दिँदै आएको छ र फ्यानहरुले यो वर्ल्डकप होइन ‘रेन कप’ नामकरण गरेका छन् ।

आईसीसी विश्वकप क्रिकेटमा १० देशको सहभागिता रहेको छ । सबैले सबैसँग खेल्नुपर्ने र शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने प्रावधान राखिएकाले यस पटकको विश्वकप अघिल्लाभन्दा बढी रोमाञ्चक हुने अनुमान गरिएको थियो । तर अहिले पानीले गर्दा तीन वटा खेल टस पनि हुन पाएनन् भने एउटा खेल ८ ओभर पनि चलेन ।

जारी विश्वकपको हाई भोल्टेज गेम भनेको भारत र पाकिस्तानबीचको हो । यसमा दुई देश र क्रिकेट मात्रै नभइ भारत र पाकिस्तानबीचको राजनीतिक तनावलाई पनि क्रिकेटसँग जोडिने भएकाले यो अरुभन्दा बेग्लै छ ।

भारतले बिहीबार न्युजिल्याण्डसँग खेल्नुपर्ने थियो तर वर्षा बाधक बनेपछि दुवै टिमले एक-एक अंक बाँडे । अब भारत र पाकिस्तान १६ जुन अर्थात आउँदो आइतबार भिड्दै छन् । म्यानचेस्टरको वर्ल्ड ट्राफोडमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुने खेललाई पनि वर्षाले बिथोल्ने सम्भावना रहेको छ ।

इंग्ल्याण्डको मौसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार म्यानचेस्टरमा बादल लाग्नेछ भने पानीले पटक पटक प्रभाव पार्ने छ ।
आइतबार स्थानीय समय अनुसार बिहान ९ बजे पहिलो चरणमै पानी पर्ने छ । केही बेरको वर्षापछि रोकिएको पानी ११ बजे फेरि पर्ने जनाइएको छ । त्यसैगरी दिउँसो २ बजेदेखि पानी पर्ने पूर्वानुमान गरिएको छ ।

भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा गरेकाेमा सबै खेल भारतले जितेको छ । ‘पुलवामा’ हमलापछि भारतले पाकिस्तानविरुद्धको विश्वकप क्रिकेट बहिष्कार गर्नुपर्ने चर्को आवाज भारतमा उठेको थियो । तर आईसीसीले क्रिकेटलाई राजनीतिक विवादसँग नजोड्न आग्रह गरेपछि मामला सामान्य भएको थियो र भारतले अहिले पाकिस्तानविरुद्ध खेल्न भारत लागेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया