देशभरको मौसम सफा
मंसिर २०, २०८१ बिहिबार
सुनसरी – सुनसरीको बर्जु गाउँपालिका–२, मा रहेको रामसीता माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत अनु पासी बिहीबार निक्कै व्यस्त थिइन् । उनीसँगै विद्यालयमा अध्ययनरत अरु ४ जना जति उनका साथी पनि व्यस्त नै थिए ।
सुनसरीको शान्तिवनमा रहेको एभरेष्ट साइन्स सेन्टरमा आयोजना भएको विज्ञान तथा प्रविधि मेलामा उनीहरुले बनाएको स्मार्टसिटी मन्त्रीलाई देखाउनु थियो । त्यही भएर उनीहरु मन्त्रीको प्रतिक्षामा थिए ।
आफ्नै जिल्लाको मन्त्री भएको नाताले पनि उनीहरु आफूहरुले बनाएको स्मार्ट सिटीको बारेमा बुझाउन चाहन्थे । आफूहरुले बनाएको जस्तै स्मार्ट सिटी बर्जुमा निर्माण गर्न आग्रह गर्ने सोचमा थिए विद्यार्थी ।
विभिन्न विद्यालयले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री हेर्दै हिँडेका मन्त्री जगदीश कुसियत जब बालबालिकाको स्टलमा पुगे अनि बालबालिकाले आफ्ना कुरा भन्न सुरु गरिहाले । विद्यार्थी अनु पासीले भनिन्, ‘सर, सर,,, यो हामीले बनाएको बर्जुको स्मार्ट सिटी हो, हामीले बर्जुमा यस्तै स्मार्ट सिटी हेर्न चाहेका छौँ ।’
अनुको कुरा सुन्नेबितिकै मन्त्रीले भन्नुभयो, ‘हामीले यो वर्ष पनि बजेट छुट्याएका थियौँ र आउँदो वर्ष पनि त्यहाँ बजेट छुट्याउनेछौँ ।’ त्यहाँको विकासका लागि कामहरु भइरहेको प्रदेश एकका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतको जवाफ थियो ।
बालबालिकाले बनाएको स्मार्ट सिटीमा घरको छतबाट हेलिकप्टर उड्नेदेखि गाउँमै विमानस्थल, चिल्ला सडक अनि सडकका किनारमा झिलिमिली बिजुलीका बत्तीहरु थिए । अनि त्यसको नजिकै रहेको हाइड्रोलिक पुलले थप आकर्षक देखिन्थ्यो । सुनसरीको बर्जुलाई केन्द्रित गरेर बनाइएको स्मार्टसिटीले मात्र मन्त्रीलाई लोभ्याएन उनीहरुले नै बनाएको स्मार्ट घर पनि निक्कै नै आकर्षक थियो ।
स्मारिका स्कुल झापा तथा बुद्ध चिल्ड्रेन हेभन बोर्डिङ स्कुलले बनाएको स्मार्ट सिटी, सत्यनारायण माध्यामिक विद्यालयले बनाएको निकुञ्ज क्षेत्र, पोखरिया माध्यामिक विद्यालयले बनाएको स्वाइल मोइस, आरएफआईडी सेन्सर, ग्यास सेन्सर र स्मार्ट स्टेट लाइटका प्रर्दशनीले पनि मन्त्रीलाई हौस्यायो ।
त्रियुगा नमुना माध्यमिक विद्यालयले समेत हाइड्रोलिक इञ्जिनसहितका डोजर तथा प्रविधिमा भित्रिएको नयाँ इन्टरनेट प्रविधिको बारेमा जानकारी दिने सामग्रीहरु प्रयोगमार्फत प्रस्तुत गरे ।
एभरेष्ट वल्र्ड स्कुल काठमाण्डौ, गोदावरी विद्या मन्दिर सुन्दर हरैचा, विश्वप्रेमी मावि अरुण भोजपुर, सितापाइला मावि नागार्जुन, रेडियन्ट स्कुल काठमाण्डौ, संकटमोचन स्कुल जनकपुरले समेत हाइड्रोलिक मेसिन, नमुना बस्ती, बटनबाट चल्ने डोजरहरु निर्माण गरेर प्रदर्शनीमा राखे । कोशी विद्या मन्दिर बोर्डिङ स्कुलले विकसित र अविकसित शहरहरु बनाएर देखाएको थियो ।
४५० रुपैयाँको डोजर
उमेरले करिब ११–१२ वर्ष जस्तो देखिने एक बालक आफूले बनाएको हाइड्रोलिक डोजर लिएर प्रदर्शनी स्थलमा एक्लै भेटिए । उनी विराटनगर महानगरपालिकामा रहेको मिल्स माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी दिपक अधिकारी थिए ।
उनलाई कसैले विज्ञान तथा प्रविधिको प्रदर्शनी हुँदैछ भन्ने जानकारी पाए । अनि उनले त्यो बारेमा विद्यालयमा गएर सुनाए । तर उनको कुरालाई विद्यालयले वास्तै गरेन । तर पनि उनलाई आफूले केही गरेर देखाउनु पर्छ भन्ने थियोे । उनले आफूलाई बनाउन आउने त्यो पनि चल्न सक्ने डोजर बनाउने अभियानमा लागे ।
उनलाई डोजर निर्माणका लागि आवश्यक पर्ने सामग्रीको जोहो कसरी गर्ने भन्ने चिन्ता थियो । उनले त्यसको व्यवस्थापन गर्नका लागि २ महिनादेखि खुत्रुकेमा हालेर जम्मा गरेर राखेको रकमलाई प्रयोग गर्ने सोचे । उनले त्यो खुत्रुके फुटाए । त्यसमा जम्मा ४ सय ५० रुपैयाँ रहेछ ।
त्यही रकमबाट आफूले डोजर बनाएर ल्याएको उनले सुनाए । उनलाई यो रकम जम्मा गर्नका लागि खाजा खर्च जोगाएर संकलन गर्दा झण्डै २ महिना लागेको थियो । उनले ल्याएको सामग्री प्रदर्शन स्थलमा राखिएको ठाउँमा पुगेका मन्त्री कुसियतले उनको समस्या सुन्नेबित्तिकै उनलाई ५ सय रुपैयाँ दिएपछि उनको मुहारमा खुशी झल्किएको देखिन्थ्यो ।
सबैलाई विद्यालयले नै पत्र बनाएर पठाएको छ, तर उनलाई विद्यालयले असहयोग गर्दा पनि उनी स्वयम् आफै गएर नाम दर्ता गराएर आफूले बनाएको प्रविधिको बारेमा जानकारी दिन व्यस्त छन् ।
साइन्स सेन्टरमा ९ जिल्ला
सुनसरीको एभरेष्ट साइन्स सेन्टरमा विज्ञान बिहीबारदेखि प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीपछि उत्कृष्ट विद्यालयमध्येबाट एउटा विद्यालयलाई १ लाख नगदसहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सहभागी विद्यालयहरुले समेत ५ हजारको दरहले प्रोत्साहन पुरस्कार पाउने छन् ।
बिहीबारदेखि सुरु भएको विज्ञान प्रविधि प्रदर्शनी शनिबारसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनुषा, ललितपुर, काठमाण्डौ र भक्तपुरका विद्यालयहरु सहभागी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।