विश्वकप क्रिकेटको 'हाई भोल्टेज गेम' : पाकिस्तानले भारतलाई किन हराउन सक्दैन !

 जेठ ३२, २०७६ शनिबार १२:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार ‘हाई भोल्टेज’ खेलमा भारत र पाकिस्तान आमने सामने हुँदैछन् । यद्दपि यो भेट भने कुनै नयाँ होइन । 

म्यानचेस्टरको मैदानमा आमने-सामने हुन लागेका भारत र पाकिस्तानबीचको खेल जारी विश्वकपकै सर्वाधिक चासोको रुपमा हेरिएको छ । तर आइतबारको मौसमले पनि यस खेललाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक खेलेका छन् । जसमा हरेक पटक भारत नै विजयी हुँदै आएको छ ।

विश्वकपमा भारतमाथि हावी हुन नसके पनि एक दिवसीय क्रिकेटमा पाकिस्तान नै भारतभन्दा अगाडि रहेको छ । भारत र पाकिस्तानको बीच अहिलेसम्म १३१ एकदिवसीय क्रिकेट खेल भएका छन् । जसमा पाकिस्तानले ७३ खेल जित्दा भारतले ५४ खेलमा मात्र बाजी मारेको छ । त्यस्तै  ४ खेलमा नतिजाविहीन भएको छ ।  

भारत र पाकिस्तानबीचको क्रिकेट सधैं फाइनल जस्तै हुन्छ । भारतले अहिलेसम्म २ पटक विश्वकप जितेको छ भने पाकिस्तानले एक पटक मात्रै विश्वकपको ट्रफी घर लगेको छ ।

भारत र पाकिस्तानका बीचमा राजनीतिक वातावरण धमिलो भएका बेला इंग्ल्याण्डमा हुन लागेको यो खेललाई दुवै देशका समर्थकले प्रतिष्ठाको विषय बनाएका छन् । आइतबार हुने प्रतियोगिताका लागि दुवै देशका सञ्चार माध्यमहरुले पनि आ-आफ्नै तरिकाले प्रचार गर्दा दुवै देशले एक अर्कालाई होच्चाएका पनि छन् । 

भारत र पाकिस्तान पहिलो पटक सन् १९९२ को विश्वकपमा आमने सामने भएका थिए । विश्वकप सुरु भएको १७ वर्ष पछि पहिलो पटक भारत र पाकिस्तान आमने सामने हुँदा भारत विजयी भयो । त्यसमा भारतीय खेलाडी सचिन तेन्दुलकरको अविजित ५४ रन बनाउँदा पाकिस्तानलाई २१७ रनको लक्ष्य दिएको थियो । 

सामान्य लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको पाकिस्तानी टिम १७३ रनमा समेटिन पुग्यो । तर त्यतिबेला भारतसँग पराजित भए पनि अन्ततः पाकिस्तानले इंग्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला उपाधि जितेका कप्तान इमरान खान अहिले पाकिस्तानको प्रधानमन्त्री छन् ।

भारत र पाकिस्तानले दोस्रो पटक सन् १९९६ मा खेलेका थिए । जसमा पाकिस्तान ३९ रनले पराजित भएको थियो । भारतको चिन्नास्वामी स्टेडियममा भारतका ओपनर ब्याट्सम्यान नवजोत सिंह सिद्धूले ९३ रनको पारी खेल्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । यसैगरी अजय जडेजाले ४५ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि भारतले २८७ रनको लक्ष्य दिएको थियो । 

पाकिस्तानका सइद अनवर र अमिर सोहेलले गतिलो शुरुवात गरे पनि मध्यक्रमका ब्याट्सम्यान टिक्न नसक्दा पाकिस्तान पराजित भएको थियो । पाकिस्तानका लागि जावेद मियादाद र सलीम मलिकले पनि राम्रो खेले तर भारतीय स्पिनर अनिल कुम्बले र बेंकटपति राजूको अघि पाकिस्तानी ब्याट्सम्यान टिक्न सकेनन् ।

भारत र पाकिस्तान तेस्रो पटक सन् १९९९ को विश्वकपमा खेलेका थिए । जसमा भारतले पाकिस्तानलाई ४७ रनले हराएको थियो । भारतीय टिमले पहिला ब्याटिङ गर्दै २२७ रन बनाएको थियो । भारतका लागि राहुल द्रविडले ६१ र सचिनले ४५ रन बनाएका थिए । कप्तान मोहम्मद अजहरुद्दीनले पनि ५९ रन बनाएका थिए । 

तर पाकिस्तान टिम १८० रनमा समेटिन पुग्यो । भारतका लागि बेंकटेश प्रसादले ५ तथा जवागल श्रीनाथले ३ विकेट हात पारेका थिए ।

भारत र पाकिस्तान चौंथो पटक सन् २००३ को विश्वकपमा आमने सामने भएका थिए । जुन खेलमा भारत ६ विकेटले विजयी भएको थियो । पहिला ब्याटिङ गर्दै पाकिस्तानले २७३ रन बनाएको थियो । जसमा साइद अनवरले १०१ रनको शतकीय पारी खेले । 

भारतका लागि सचिन तेन्दुलकरले ९८ रन बनाउँदा युवराज सिंह र राहुल दव्रिड अविजित रहँदै क्रमशः ५० र ४४ रन जोडेका थिए । त्यो खेलमा भारतले २६ बल बाँकी छँदै लक्ष्य भेट्याएको थियो । 

पाँचौ पटक भारत र पाकिस्तान सन् २०११ मा खेलेका थिए । संकट मोचकको रुपमा सचिन तेन्दुलकरले खेलेपछि पाकिस्तान २९ रनले पराजित हुन पुग्यो । 

भारतले पहिला ब्याटिङ गर्दै २६० रन बनाएको थियो । जवाफमा पाकिस्तान २३१ रनमा समेटिन पुग्यो । पाकिस्तानका लागि मिस्बाह उल हकले ५६ रन जोडे पनि हार टार्न सकेनन् । सन् २०११ को विश्वकप भारतले जितेको थियो ।

भारत र पाकिस्तान विश्वकपको छैटौं खेलमा सन् २०१५ मा आमने सामने भएका थिए । जुन खेलमा पाकिस्तान ७६ रनले पराजित भएको थियो । 

भारतका लागि विराट कोहलीले १०७ रन बनाउँदा सुरेश रैनाले ७४ र शिखर धवनले ७३ रन जोडेका थिए । ३०१ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२४ रनमा समेटिन पुग्यो ।

अब सातौं प्रतिस्पर्धा आइतबार हुँदैछ । यो भिडन्तको नतिजा कस्तो आउला भनेर अनुमान गर्दैगर्दा पानीले खेल बिथोल्न सक्ने आँकलन पनि गरिएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया