कांग्रेसका अवराेधका कारण सदनलाई जनचासाेका विषयमा जानकारी गराउन पाइनँ, दु:खी छु : प्रधानमन्त्री ओली

 असार ३, २०७६ मंगलबार १३:३०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले जनचासोको महत्वपूर्ण विषयमा संसदलाई जानकारी गराउन लाग्दा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गर्नु दुःखद भएको प्रतिक्रिया दिनुभएको छ ।  

प्रतिपक्षी दलका सांसदले आफ्नो भनाइ प्रधानमन्त्रीको सम्बोधन भन्दा पहिला राख्नुपर्ने माग राख्दै संसद बैठकमा नाराबाजी गरेपछि बैठक स्थगित हुन पुगेको थियो ।  

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई बोल्न समय दिएलगत्तै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु बसेको ठाउँबाट उठेर रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए ।  

ट्वीट गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण हालैको युरोप भ्रमण र गुठी विधेयकका विषयमा सदनलाई जानकारी गराउन नपाएकोमा दुःख लागेको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेख्नुभएको छ, ‘प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसामयिक विषयमा रहेको जनचासोको सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइनँ । यस घटनाबाट म दुःखी भएको छु ।’

कांग्रेसको अवरोधका कारण संसदको अर्को बैठक बुधबार १२ बजे बस्ने गरी स्थगित भएको छ । 

प्रधानमन्त्रीले बाेल्ने हाेइन, जवाफ दिने हाे : सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । 

मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता प्रमुख प्रतिपक्षी दललाई दिनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले बोल्ने नभइ जवाफ दिने हो भन्दै अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'प्रधानमन्त्रीले बोल्ने होइन । जवाफ दिने हो । पहिले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँ पनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?'

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया