विषाक्त रक्सीले मलेसियामा एक नेपालीसहित ४ जनाको ज्यान गयो

 असार ४, २०७६ बुधबार १५:५५:४३ | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियामा विषाक्त रक्सी पिउँदा एक नेपालीसहित चार जनाको ज्यान गएको छ । रक्सीकै कारण एक मलेसियन नागरिकले आँखाको ज्योति गुमाएका छन् ।

पछिल्लो ४८ घण्टामा एक नेपाली, एक भारतीय, एक पाकिस्तानी र अर्का एक मलेसियन नागरिकको विषाक्त रक्सीका कारण ज्यान गएको मलेसियाको जोहर प्रहरी प्रमुख दातुक खालिल कदेर मोहम्मदको भनाइ उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले उल्लेख गरेको छ ।

मृतकको उमेर ३० देखि ३६ वर्षको भनिए पनि उनीहरुको नाम चाहिँ खुलिसकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धानले मिलुदियर ब्राण्डको रक्सी पिउँदा उनीहरुको ज्यान गएको मलाय मेलले उल्लेख गरेको छ ।

प्रहरीले यो घटनापछि एउटा समूह नै बनाएर विषाक्त रक्सी बेच्नेको खोजी गरिरहेको र अहिलेसम्म ९ जनालाई पक्राउ गरिएको जनाएको छ । यसै साता क्वालालम्पुरमा विषाक्त रक्सी सेवनकै कारण ६ जनाको ज्यान गएको थियो । हाइक्लास ह्वीस्की, अल दियाब्लो सुपर स्ट्रङ ब्रिउ र माट्रिन एक्स्ट्र स्ट्रङ ब्राण्डका रक्सी प्रहरीले जफत गरेको छ ।

गएको वर्ष असोजमा पनि विषाक्त रक्सीकै कारण मलेसियामा १० नेपालीसहित ३३ जनाको ज्यान गएको थियो । त्यतिबेला भने किङ फिसर वियरका कारण ज्यान गएको भनिएको थियो । तर कम्पनीले आफ्नो ब्राण्डका कारण ज्यान नगएको दावी गरिरहेको छ । 

बाहिरबाट हेर्दा विषाक्त रक्सी नचिनिने हुँदा सावधानी अपनाउन मलेसियामा रहेको नेपाली दूतावासले यसअघि नै अनुरोध गरिसकेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया