अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
दाङ – दाङका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात गरेको छन ।
दाङका १० वटा स्थानीय तहमा झण्डै २ हजार बढी रोजगारदाता छानेर कामको सुरुवात गरिएको छ । जिल्लाका दश वटा स्थानीय तहमध्ये ८ वटाले कामको थालनी गरेका छन । अन्य दुई वटा स्थानीय तहले पनि काम सुरु गर्ने अन्तिम तयारीमा रहेको जनाएका छन ।
सरकारले बेरोजगारहरुलाई रोजगारसँग जोड्न र श्रमको सम्मान गर्ने उद्देश्यका साथ ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिता भने देखिएको छैन । उनीहरुमध्ये धेरैलाई सामान्य काममा लगाइएको छ । सडकमा छाडिएका गाई धपाउनेदेखि सडकछेउको फोहोर टिप्ने, सरकारी कार्यालय परिसरमा रहेका घाँस काट्ने जस्ता सामान्य काम रोजगारदातालाई गराउँदा यो कार्यक्रमको आलोचना पनि सुरु भएको छ ।
देशमा काम नपाएर विदेशिने युवाहरुलाई स्वदेशमै रोजगार रहने र काम नपाएका युवाहरुलाई काम दिने विश्वास ठानिएको यो कार्यक्रमको सुरुवाती छाँट हेर्दै विवादित र आलोचितसमेत बनेको छ । राेजगारी गर्नेलाई सरकारले दैनिक ५ सय १७ रुपैयाँ पारिश्रमिक दिने भएको छ ।
शनिबार बिहान दाङको सदरमुकाम घोराहीको व्यस्त मानिने तुलसीपुर चोकमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाएका केही महिलाले गाई डोर्याइरहेको र केहीले धपाइरहेको देखियो । यस्तो रोजगारी नाममात्रको रोजगारी र झारा टार्ने खालको मात्र देखिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि घोराहीमा ३६ वटा आयोजना छानिएकोमा ८ वटामा मात्रै काम भएको कार्यक्रम संयोजक संयोजक शरद पाण्डेले जानकारी दिनुभयो । घोराहीमा मात्रै ४ सय २५ जनाले रोजगारी पाएका छन ।
सरकारले केन्द्रदेखि नै ढिलाइ गरेका कारण यो वर्ष कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको कार्यक्रम संयोजक पाण्डेको भनाइ छ । जेठको ७ गते संघीय सरकारले बजेट दिएका कारण पनि सोचेजस्तो कार्यक्रम बनाउन नसकिएको उहाँले बताउनुभयो । ‘हतारहतार भयो, प्राविधिकले इष्टिमेट गर्नेदेखि बजेट नै ढिलो आयो कसरी राम्रो काम गर्ने’ पाण्डेले कार्यक्रम प्रभावकारी हुन नसक्नुको कारण बताउनुभयो ।
दाङका अन्य स्थानीय तहमा पनि पनि प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको पक्ष त्यति प्रभावकारी र लोभलाग्दो छैन । पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले काममा लगाएका रोजगारदाताहरुले गाउँपालिका र स्वास्थ्य चौकी भवन सरसफाइ गर्ने काम गरेका छन् । दुवै कार्यालयमा कार्यालय सहयोगी पनि छन् । उनीहरु फेसबुक चलाएर बस्ने गरेको र प्रधानमन्त्री रोजगार कार्यक्रममा छानिएका रोजगारदाताले कार्यालय परिसर सरसफाइ गरेको भन्दै स्थानीयले आलोचना छन् ।
शान्तिनगर गाउँपालिकाका सातवटै वडाबाट ४४ सय ५१ जनाले आवेदन फाराम भरेको भए पनि तीमध्ये ९९ जना मात्र रोजगारका लागि छनौटमा परेको जानकारी दिएको छ । यस्तै छनोटमा परेकाहरुलाई आवश्यक औजार, सुरक्षा सामग्री र प्राथमिक उपचारका सामग्रीहरु उपलब्ध गराउँदैै गाउँपालिकाका रोजगार संयोजक निमराज सापकोटाले गाउँपालिकाका विभिन्न स्थानका कामका लागि खटाइने बताउनुभयो । छनौटमा परेकामध्ये ७७ जना महिला रहेका छन भने २२ जना पुरुष रहेका छन् ।
शान्तिनगर गाउँपालिका र घोराही उपमहानगरपालिकाको जस्तै जिल्लाका अन्य स्थानीय तहको अवस्था छ । यस्तै कार्यक्रम गर्दै जाने हो भने सरकारले बेरोजगारीलाई एक सय दिनको रोजगारी दिने गरी ल्याएको योजनाले युवा विदेश पलायन रोकिएला त ? सबैको जिज्ञासा यही नै छ । रोजगारीका नाममा पैसा सक्ने काम भएको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना बढ्दै गएको छ ।
डेढ सय बढीले काम छोडे
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिकाबाट डेढ सय बढीले काम छोडेका छन् ।
उपमहानगरपालिकामा ६ सय जनालाई रोजगार दिइएकोमा एक सय ५५ जनाले काम छोडेको उपमहानगरपालिकाका रोजगार संयोजक भागवत घिमिरेले जानकारी दिनुभयो । सार्वजनिक स्थानमा सरसफाइ गर्नेदेखि सामान्य खालको कार्यक्रम गर्न परेका कारण काम छोडेको जनाइएको छ ।
तुलसीपुरमा चारसय ४५ जनाले मात्रै काम गरिरहेका छन् । दलित,असहाय, एकल महिला, अति विपन्न तथा बेरोजगार नागरिकलाई पहिचान गरी रोजगार प्रदान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
koirala rajendra
June 22, 2019, 2:06 p.m.के हो सामान्य र असमान्य काम। काम नै इज्जत हो/