आर्थिक हिनामिना गरेको आरोप लागेका प्रधानाध्यापक विश्वकर्मालाई सफाइ

 असार ८, २०७६ आइतबार २०:५४:१२ | सुजता सुनुवार

इलाम - उच्च अदालत विराटनगर, इलाम इजलासले आइतबार आर्थिक हिनामिना गरेको आरोप लागेका शिक्षक मातृका प्रसाद विश्वकर्माको पक्षमा फैसला गरेको छ ।

इलाम नगरपालिका-१२ मा रहेकाे साङ्गरुम्बा माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वकर्माले आर्थिक हिनामिना नगरेको भन्दै अदालतले विश्वकर्माको पक्षमा फैसला सुनाएको हो  । विश्वकर्माले विद्यालयमा आर्थिक हिनामिना गरेको साथै आर्थिक पारदर्शिता नभएको भन्दै इलाम नगर कार्यपालिकाको २०७५ माघ २३ गतेकाे बैठकले प्रधानाध्यापक विश्वकर्मालाई निस्कासन सहितको पत्र पठाएको थियो ।

नगरपालिकाले विश्वकर्मामाथि लगाएको आरोपमा कुनै प्रमाण नभेटिएकोले यथावत रुपमा काम गर्न विश्वकर्मालाई आदेश दिँदै उहाँकै पक्षमा न्यायाधीश प्रकाशचन्द्र गजुरेल र अच्युत बिष्टको संयुक्त इजलासले फैसला सुनाएको हाे । 

प्रधानाध्यापक विश्वकर्माको ठाउँमा त्यसै विद्यालयका अस्थायी शिक्षक नेत्र तामाङलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको थियो । 

गएको चैत्र १२ गते मुद्दाको फैसला नभइन्जेलसम्मका लागि नगरपालिकाको निर्णय यथास्थितिमा राखेर प्रधानाध्यापक विश्वकर्मालाई नियमित काम गर्न अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

नगरपालिकाले आर्थिक हिनामिनाको आरोप लगाएसँगै विश्वकर्माको नाममा रहेको बैंक खाता समेत रोक्का गरिएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया