४ नम्बर प्रदेशको नाम गण्डकी घोषणा

 असार २२, २०७५ शुक्रबार १६:४०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – चार नम्बर प्रदेशको नाम गण्डकी घोषणा गरिएको  छ । 

प्रदेशसभाको बैठकले यो घोषणा गरेको हो । यस प्रदेशमा रहेका ५९ जना सांसदमध्ये ५४ जना गण्डकी नामको पक्षमा रहे । संसदमा प्रतिनिधित्व गर्ने नयाँशक्ति बाहेक सबै दलका सांसदहरुले गण्डकी नामको पक्षमा मतदान गरे भने नयाँ शक्तिका हरिशरण  आचार्य र धनमाया लामाले विपक्षमा मतदान गरेका छन् ।

नयाँ शक्तिले यस प्रदेशको नाम तमुवान – मगरात वा गण्डकी – तमुवान राख्नुपर्ने माग गर्दै आएको छ । त्यसैगरी जनमोर्चाका सांसद टेकबहादुर घर्ती संसदमा अनुपस्थित रहनुभयो भने नेकपाका सांसद तथा सभामुख नेत्रनाथ अधिकारी पनि अनुपस्थित रहनुभयो । प्रदेश सभामुख अधिकारी केही समय अघिदेखि विरामी भई उपचाररत हुनुहुन्छ । यस प्रदेशमा कूल ६० जना प्रदेश सांसद रहेका भएपनि स्वतन्त्रबाट निर्वाचित मनाङका दीपक मनाङ्गे संसदमा हुनुहुन्न । 

यस प्रदेशको राजधानी पोखरा रहने यसअघि नै निर्णय भैसकेको छ । प्रदेशको राजधानी नामांकन बारेको समितिले बुझाएको प्रतिवेदनमा यस प्रदेशको नाम गण्डकी, तमुवान–मगराँत, गोरखा र धौलागिरि राख्न सकिने प्रतिवेदन पेश गरेको थियो । यस प्रतिवेदन असार १० गते संसदमा टेबुल भएको थियो । 

यसैबीच प्रदेश नम्बर ४ को नाम सर्वसम्मत गण्डकी राख्न सफल भएको उपलक्ष्यमा विजयोत्सव मनाउन र दीप प्रज्ज्वलन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आहृवान गरेको छ ।

नेकपा प्रदेश नम्बर ४ का स्थानीय पार्टी कमिटीहरुको एकता कार्यदल प्रमुख किरण गुरुङले केही समयअघि विज्ञप्ति निकालेर आफ्ना पार्टी कमिटी, पार्टी सदस्य, जनसंगठन तथा जनसमुदायलाई यस्तो आहृवान गर्नुभएको छ । 

तर पोखरामा रहेका गुरुङ, मगर लगायतका आदिवासी समुदायले यसको विरोध गरेका छन् । उनीहरुले यस प्रदेशको नाम तमुवान–मगरात राख्ने माग गरेका छन् । त्यसको लागि तमुवान–मगरात संघर्ष समिति नै घोषणा गरी आन्दोलन शुरु गरेका छन् । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले गण्डकी प्रदेशको लागि पहल गरेको आरोपमा उहाँलाई सामाजिक बहिष्कार गर्ने घोषणा समेत गरेका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अनुप ढुंगाना

    July 8, 2018, 1:10 p.m.

    गण्डकी नाममा सबैको जीत !!! जातीयता र विनाशको हैन् शान्ति, एकता,भाइचारा र उन्नति प्रगतिको राजनीति शुरु हुनु देशकै लागि शुभ संकेत,अरु सबै प्रदेशमा पनि यस्तै हुन सकोस्, यसको लागि पहल गर्नु हुने सबै मान्यजन हरुलाई धन्यवाद !!!

  •  0 Reply

तपाईको प्रतिक्रिया