माथिल्लो तामाकोशीको पाइप जडानको काम सुरु

 असार ११, २०७६ बुधबार १७:५१:८ | उषा तामाङ
unn.prixa.net

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तीन सय १० मिटरको ठाडो सुरुङमा पहिलो पाइप सफलतापूर्वक साफ्टमा राखिएको छ । 

आयोजनाको माथिल्लो भर्टिकल साफ्टको ठाडो सुरुङमा मंगलबार २ दशमलव ५ मिटर लम्बाइ तथा ९ टन वजन भएको पहिलो पाइप सफलतापूर्वक साफ्टमा राख्न सफल भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयो । लट नम्बर २ का ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरीङले पाइप राखेको हो ।

आयोजना प्रमुख दिनेशजंग राणा, मेकानिकल महाशाखा प्रमुख नारायण जैशी तिवारी र इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्ण गोपाल रञ्जितको उपस्थितिमा कुल ३५ टन क्षमता भएको ग्रेण्टि क्रेनबाट पाइप साफ्टमा राखिएको थियो । त्यसको लागि झण्डै दुई घण्टा बढी समय लागेको थियो । 

दोलखाको बिगु गाउँपालिका-१ लामाबगरमा निर्माण भैरहेको आयोजनाको कठिन कार्य अन्तर्गत दुवै साफ्टमध्ये तल्लो ठाडो सुरुङमा असार १ गतेबाट ठेकेदार कम्पनी एण्ड्रिज हाइड्रोले पाइप राख्ने कार्य सुरु गरेको थियो । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शाफ्टहरु खन्ने काम लट नम्बर १ को चिनिया ठेकेदार कम्पनी सिनो हाइड्रोले गरेको थियो । पाइप जडानको काम २०७२ सालको भूकम्प तथा त्यसपछिका परकम्प, नाकाबन्दी तथा लामोसाँघु जिरी सडक खण्डको स्तरोन्नति कार्यले प्रभावित भएको थियो ।  

यस अघि लट नम्बर २ को हाइड्रो मेकानिकलको जिम्मा लिएको ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनियरिङले पाइप जडानको कार्यमा ढिलाइ गरेको थियो । त्यसपछि लट नम्बर २ को टेक्सम्याको रेल्वे इञ्जिनियरिङ तथा लट नम्बर ३ को एन्ड्रिज हाइड्रोबीच सहमति गराइ ३ सय ७३ मिटरको तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा एन्ड्रिज हाइड्रोलाई दिन त्रिपक्षीय सम्झौता गराइएको थियो । 

अहिले दुवै ठेकेदार कम्पनीहरुले तल्लो तथा माथिल्लो साफ्टमा पाइप जडानको कार्य तीव्र गतिमा गरिरहेका छन् । 

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/०७४ भित्र सकेर विद्युत उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प र त्यसपछिका विभिन्न अवरोधलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालु आर्थिक वर्ष २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो । 

तर लट नम्बर २ को ठेकदार कम्पनीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि विसं २०७६ पुस १५ भित्र एक युनिट विद्युत उत्पादनको लक्ष्यसहित नयाँ समयतालिका तय गरेर काम भैरहेको छ । त्यसपछि हरेक महिनाको अन्तरमा बाँकी ५ युनिट विद्युत उत्पादन गरिने छ । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

 

अन्तिम अपडेट: फागुन २९, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया