नेपाल भ्रमण वर्ष २०२०: चुनौतीसँगै अवसरका चाङ

 असार १२, २०७६ बिहिबार २०:३२:७ | दामोदर न्याैपाने
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले गएको साउन २९ साउन २०७४ मा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ को सरकारको नीति तथा कार्यक्रमले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जसका लागि ‘लाइफटाइम एक्सपेरियन्स (जीवनकाल अनुभव)’ को नारा पनि तय भैसकेको छ ।  

सरकारले भनेजस्तै ‘नेपाल भ्रमण वर्ष २०२०’ मा २० लाख पर्यटन भित्र्याउन त्यति सहज भने देखिँदैन । यसका लागि अवसर र चुनौती दुवै छ । पर्यटकलाई आकर्षित गर्न २० वटा पर्यटकीय गन्तव्यस्थलको कामले पनि अझै पूर्णता पाइसकेको छैन ।

हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उहाँको स्थान खाली हुँदा पनि भ्रमण वर्ष कम्ती चुनौतीपूर्ण छैन । 

‘इभेन्ट मात्र नभई राष्ट्रिय आर्थिक एजेण्डा पनि हो’ 

‘नेपाल भ्रमण वर्ष २०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक तथा व्यवसायी सुरज वैद्य भने यसलाई एक उत्सवका मात्र नभई राष्ट्रिय आर्थिक एजेण्डाको रुपमा लिनुपर्ने बताउनुहुन्छ । ‘वर्तमान अवस्थामा विश्वको पर्यटन विकास दर मात्र ६ प्रतिशत छ भने नेपालको २० प्रतिशतभन्दा बढी छ । यही कारणले गर्दा हामी खुशी हुनुपर्छ । तसर्थ यो एउटा उत्सव मात्र होइन यसको माध्यमबाट नेपालको पर्यटनलाई अझ बृहत्, विकास र विस्तार गर्नु पनि हो,’ संयोजक वैद्यले उज्यालोलाई भन्नुभयो । 

वैद्यका अनुसार, नेपालमा पर्यटनका अथाह सम्भावनाहरु छन् । प्राकृतिक नदीनाला, हिमाल, पहाडका अलावा सांस्कृतिक धरोहर र सम्पदा नेपालका लागि ‘प्लस प्वाइन्ट’ हो । संयोजक वैद्य भन्नुहुन्छ, ‘हामीले आफूसँग भएको स्रोत र साधनलाई परिचालन गर्नुपर्छ र २० लाख भित्र्याउन सम्भव नै छैन भन्ने कुरा म मान्दिन । प्रयास गर्नुपर्छ र मलाई लाग्छ यो सम्भव पनि छ ।’ 

प्रदेशगत तयारी तीव्र

उहाँका अनुसार, देशको सातै प्रदेशमा विशेष तयारीलाई तीव्रता दिइएको छ । ‘भ्रमण वर्षलाई लक्षित गरेर नै सुदूर पश्चिम प्रदेशमा पाँच दिने र्‍याफ्टिङ र फिसिङका लागि अध्ययन र अनुसन्धान सुरु गर्दैछौँ, मुस्ताङ, मार्फा र कालीगण्डकीले वास्तवमै पर्यटन प्रबर्द्धनको विस्तार गर्नसक्छ ।’

त्यसैगरी प्रदेश-४ मा स्थानीय र प्रदेश सरकारको समन्वयमा विभिन्न कार्यक्रमहरुको तयारी गरिरहेको संयोजक वैद्यले बताउनुभयो । ‘आउँदाे नोभेम्बर महिनामा नेपाली संस्कृति झल्काएर पर्यटन प्रबर्द्धन गर्न शक्ति र देवीको आराधना र यज्ञको कार्यक्रम गर्ने तयारी गरेका छौँ,’ उहाँले भन्नुभयो । 

प्रदेश-२ मा पनि आउँदाे नोभेम्बर महिनामा जानकी मन्दिरमा ब्रिटिश काउन्सिलको सहकार्यमा ‘विमिन अफ वण्डर’ को कार्यक्रम गर्ने राष्ट्रिय भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिनुभयो ।  

प्रदेश-३ मा स्थानीय सरकारको समन्वयमा धार्मिक र सांस्कृतिक महत्वका सम्पदाहरुबाट नै धार्मिक पर्यटकहरु भित्र्याउने तयारी भैरहेको छ । विशेषगरी काठमाण्डौ, भक्तपुर र ललितपुरमा धार्मिक र सांस्कृतिक पर्यटनको अथाह सम्भावना रहेकाले यही अनुरुप तयारी भैरहेको संयोजक वैद्यले जानकारी दिनुभयो । 

भारत र चीनमा पनि कार्यक्रम

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन अन्तर्राष्ट्रिय स्तरमा पनि कार्यक्रमहरु हुने भएका छन् । चीनको ‘जी-ट्रिप’ अर्थात् ट्राभल एजेन्सीको सहकार्यमा भ्रमण वर्षमा नेपालमा पर्यटक भित्र्याउन यी एजेन्सीले प्रबर्द्धनको काम गर्नेछन् ।संयोजक वैद्य भन्नुहुन्छ, ‘चीनमा बुद्ध धर्मको क्रेज छ, बुद्ध दर्शन र धर्मको प्रचार प्रसार गर्नसके भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक ल्याउन सकिन्छ ।’ 

अर्काे छिमेकी राष्ट्र भारतमा पनि पर्यटन प्रबर्द्धनको लागि नेपाली दूतावासको सहकार्यमा नेपाली महोत्सव गर्ने बताइएको छ । महोत्सवमा नेपाली संस्कृति, नेपाली खाना र नेपालको पर्यटन क्षेत्रलाई विस्तार र प्रबर्द्धन गर्ने काम हुँदैछ । भारत-नेपालको बीचमा ‘उच्चस्तरीय पर्यटन टक शो’ को तयारी भैरहेको संयोजक वैद्यले बताउनुभयो । 

नेपाल, भारत र चीनको त्रिपक्षीय पर्यटन प्रबर्द्धन र प्रचारप्रसारका लागि ‘नेपाल-भारत, चीन प्रदर्शन’ (एनआईसीई) को लागि पनि तयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।  

पर्यटकको संख्या चाहिएको कि गुणस्तर ?

पर्यटकको संख्या मात्रै बढाउने कि गुणस्तर पनि बढाउने ? संयोजक वैद्यले प्रश्न गर्नुभयो । अहिले तत्कालका लागि मात्र पर्यटक भित्र्याउने नभइ दीर्घकालीनरुपमा पनि सोच्नुपर्ने संयोजक वैद्यको धारणा छ । उहाँ भन्नुहुन्छ, ‘नेपालले भ्रमण वर्ष २०२० मा मात्र पर्यटक भित्र्याउने होइन, ती पर्यटकलाई दीर्घकालीन पाहुना बनाउनुपर्छ र यसका लागि हामीले धेरै सुधार गर्नुपर्छ ।’

२० लाख पर्यटक आउलान् या नआउलान्, त्यो कुरा आफ्नो ठाउँमा छ तर पर्यटकको सहजताका लागि भौतिक पूर्वाधारदेखि पर्यटकमैत्री वातावरण र असल संस्कारको विकास गर्नुपर्ने उहाँको भनाइ छ । ‘नेपाल घुम्न आएका पर्यटकले नेपालका केही राम्रा कुराहरु आफ्नो देशमा लाने हो न कि नेपालका बेथिति र खराब पक्ष,’ उहाँले सुझाव दिनुभयो ।  

‘स्पोर्टस् हब’ को रुपमा विकास गर्न सकिन्छ 

संयोजक वैद्यका अनुसार, नेपाललाई स्पोर्टस् हबको रुपमा पनि विकास गर्न सकिन्छ । ‘भारतको चर्चित खेलकुद च्यानल ‘डी स्पोर्टस’ का कार्यकारी निर्देशकसँग नेपाली क्रिकेट खेल, एभरेष्ट म्याराथन र लुम्बिनी साइक्लिंङ लगायतका बारेमा कुरा भैरहेको छ,’ उहाँले भन्नुभयो । 

उदाहरणकै लागि भारत र पाकिस्तानले सुरक्षाको कारण देखाउँदै एकआपसमा नखेलेको धेरै समय भयो । यी दुईबीचको खेल नेपालमा गराउन सक्ने हो भने यसले नेपालको विकास र पर्यटन प्रबर्द्धनमा सहयोग पुग्छ । 

पर्यटक भित्र्याउने आधार पनि चाहियो नि !

संयोजक वैद्यले भ्रमण वर्षमा पर्यटक भित्र्याउनका लागि आधार के छ ? भनेर प्रश्न गर्नुभयो । उहाँका अनुसार, राष्ट्रिय अवस्थाले पनि भ्रमण वर्षलाई प्रभावित पार्ने निश्चित छ । ‘सडकको अवस्था, ट्याक्सी सेवाको अवस्था, राजधानी केन्द्रित एयरपोर्ट, हरियालीको अभावलगायतले गर्दा पर्यटकलाई स्वतः प्रभाव पार्छ नै,’ उहाँले भन्नुभयो ।  

संयोजक वैद्य भन्नुहुन्छ, ‘२० लाख पर्यटक भित्र्याउने भनिरहँदा आफूसँग भएको स्रोत साधनलाई पनि ख्याल गर्नुपर्छ । अभावै अभावकाबीच यो सम्भव हुन्न, हामीसँग भएको पूर्वाधारको स्तरोन्नति गर्दै व्यापक सुधारको जरुरी छ ।’ केन्द्रिकृत विकासलाई देशैभरि विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । धेरै सेवा र सुविधा केन्द्रमा मात्र भएको हुँदा यसले अरु क्षेत्रमा पर्यटकको संख्यामा ह्रास ल्याउने वैद्यले भन्नुभयो । 

पर्यटन लगानी सम्मेलन हुँदै 

नेपाल पर्यटन बोर्डको सहकार्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर आगामी जनवरी सन् २०२० मा पर्यटन क्षेत्रमा लगानी भित्र्याउने तयारी भैरहेको छ । संयोजक वैद्य भन्नुहुन्छ, ‘यो लगानी सम्मेलन भ्रमण वर्ष २०२० का लागि मात्र होइन, यसले नेपालमा पर्यटनको भविष्यलाई पनि जोडेको छ ।’

त्यसैगरी पर्यटकलाई आकर्षित गर्न काठमाण्डौ र पोखराका सडकमा वृक्षारोपण गर्न तयारी भैरहेको नेपाल भ्रमण वर्ष २०२० सचिवालयले जनाएको छ । पर्यटन क्षेत्रमा लगानी भित्र्याउनेमा पनि सचिवालय विश्वस्त छ । 

सगरमाथा बारेको भ्रम चिर्ने उत्तम विकल्प

भ्रमण वर्षले नेपालको आर्थिक पाटोलाई मात्र नभएर नेपाल बारे पछिल्लो समय देखिएको भ्रम चिर्न पनि सहयोग पुर्‍यनउने बताइएको छ । पछिल्लो समय सगरमाथामा ट्राफिकका कारणले धेरै आरोहीहरुको ज्यान गएको सम्बन्धमा पनि विश्वसमुदायलाई जानकारी दिनसक्ने संयोजक वैद्यले विश्वास लिनुभएको छ ।

‘हामीले नेपालको पर्यटनको आधारस्तम्भ नै मानिएको सगरमाथाको सरसफाइमा पनि जोड दिएका छौँ । योसँगै हामी प्रक्रियामा चल्ने हो भने सगरमाथा आरोहीले अनाहकमा ज्यान गुमाउनु पर्दैन,’ उहाँको भनाइ छ ।

आठ हजारभन्दा कम उचाइका हिमाल आरोहण गरेको आरोहीलाई सगरमाथा चढ्न दिन नहुने र मौसम तथा चाप हेरेर मात्रै आरोहणको अनुमति दिनुपर्ने उहाँको व्यक्तिगत धारणा छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया