धरौटी बुझाउन नसकेपछि विप्लव कार्यकर्ता जेल चलान

 असार १२, २०७६ बिहिबार १२:५२:४२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा - संखुवासभामा केही दिन अघि पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका एक कार्यकर्ता कारागार चलान भएका छन् ।

पाँचखपन नगरपालिका–६ का बाबुराम राई ‘विवश’लाई धरौटी बापतको रकम नबुझाएको भन्दै कारागार चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले बताउनुभयो ।

उहाँले विप्लव कार्यकर्ता राईलाई संगठित रुपमा हातहतियार खरखजाना तथा विष्फोटक पदार्थ ओसारपसार, सार्वजनिक सम्पत्तिमा विस्फाेटन र संगठित रुपमा आगजनी गरेको आरोप लागेको थियो । सात हजार रुपैयाँ धरौटी बुझाउन नसकेकाले कारागार चलान गरिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।

राईलाई सार्वजनिक सम्पत्तिमा विस्फाेटनलगायत अन्य दुई वटा मुद्दामा साधारण तारिख तोकिएको छ । विप्लवका कार्यकर्ता राईलाई प्रहरीले गएको असार ५ गते सदरमुकाम खाँदबारीबाट पक्राउ गरेको थियो । राई विप्लव समूहको राष्ट्रिय युवा जनस्वंय सेवक केन्द्रीय अध्यक्ष तथा कोशी ब्यूरो सदस्य रहेका थिए ।

परिवारको भनाइ अनुसार उनी पछिल्लो समय पार्टीबाट राजिनामा दिएर निष्कृय रुपमा घर परिवारसँग बस्दै आएका थिए । व्यक्तिगत कामका सिलसिलामा सदरमुकाम खाँदबारी आएको बेला प्रहरीले पक्राउ गरेको परिवारकाे आरोप छ । 

राईको घर पाँचखपन नगरपालिका भए पनि उनी अहिले परिवारसँग सुनसरीको इटहरी बस्दै आउनु भएको थियो । राई तत्कालीन सशस्त्र द्वन्द्वमा सहभागी हुँदा टाउकोमा गोली लागेर घाइते भएका थिए । राई जिल्ला प्रशासन कार्यालय संखुवासभाको अभिलेख अनुसार घाइते अपाङ्गको ‘क’ वर्गको सूचीबाट मासिक भत्ता पाउने व्यक्तिसमेत हुन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया