सडकमै पोखे किसानले हरियो चियापत्ती

 असार १६, २०७६ सोमबार ८:२१:४० | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा तीन पिकअप हरियो चियापत्ती सडकमा फ्याँकिएका छन् । जिल्लाको सूर्योदय नगरपालिकामा रहेका चिया बगानबाट उत्पादित चिया गुणस्तरहीन भएको भन्दै उद्योगले फिर्ता गरेपछि ती चियापत्ती किसानले सडकमा फ्याँकेका हुन् । 

नगरपालिकाले लागु गरेको चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि २०७५ मा उल्लेख भएअनुसारको चियाको पत्ती उद्योगमा नआएको भन्दै किसानले टिपेर ल्याएको चियापत्तीलाई आइतबार उद्योगले फर्काएको थियो । 

किसानलाई पीडित बनाउँदै उद्योगले चियापत्तीसँगै फर्काएपछि विरोधस्वरुप नगरपालिकाको गेटमा नै टिपिएका ती हरियो चियापत्ती किसानले फ्याकेका हुन् । नगरपालिका अगाडि, नयाँ चोक, र फिक्कल बजारमा ती चियापत्ती फ्याँकिएका छन्  । 

चिया उद्योगीहरुले कम गुणस्तरको भन्दै हरियो चियापत्ती फर्काएपछि बगानका झण्डै तीन हजार किसान प्रत्यक्ष मारमा परेका छन् । ‘किसानको चिया टिपिनु पर्‍यो, बिक्री हुनु पर्‍यो र हामी बाँच्नु पर्‍यो’, चिया किसान डम्बर कट्टुवालले दुखेसो पोख्दै भन्नुभयो । उहाँ भन्नुहुन्छ, ‘उद्योगी, नगरपालिका र हामी किसान बसेर गरिएको सहमतिमा यस पटकको चियापत्ती जस्तो भए पनि उद्योगले लिने भन्ने पक्षमा सहमति भएको थियो ।’

छलफलमा अर्को पटकको टिपाईमा मात्र गुणस्तर जाँच गर्ने सहमति भएको किसानहरुको भनाइ छ । उद्योगीले चियापत्ती टिप्ने सिजनमा नै उद्योग बन्द गरेपछि चियाको पत्ती हुर्केर लामो भएको थियो । ती लामा भएका चियापत्ती नटिपी अर्को नँया मुना नपलाउने भएकाले किसानले यही चियापत्ती टिपेर उद्योगमा लगेका हुन् । 

हरियो चियापत्ती सडकमा फ्याक्दै किसान आन्दोलित भएपछि नगरपालिकाको ध्यानाकर्षण भएको नगर प्रवत्ता भाइचुङ्ग लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ती फ्याँकिएका चियापत्तीमध्ये केही भने गुणस्तरको नै पाएका छौँ । यो किसान स्वयमले फ्याँकेका चियापत्ति होइनन् कलेक्टरले फ्याँकेका हुन् ।’ यसको मूल्य किसानलाई कलेक्टरले नै दिने व्यवस्था मिलाउने गरी अब नगरमा छलफल हुने उहाँले जानकारी दिनु भयो । 

उद्योगीहरुको संगठन सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना एकै पटक बन्द भएपछि गएको शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधिबीच उद्योग संचालन गर्ने सहमति भएको थियो । समस्या समाधानका लागि गुणस्तरका आधारमा मात्र नगरले तोकेको मूल्यमा चिया खरिद गर्ने र एक उच्चस्तरीय समिति बनाएर दीर्घकालीन रुपमा चिया क्षेत्रका समस्या समाधान गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको १० ओटा स्थानीय तहमध्ये सबैभन्दा बढी चिया खेती सूर्योदय नगरपालिकामा रहेको छ । यस नगरपालिकामा मात्र ४५ हजार रोपनी क्षेत्रफलमा चिया खेती गरिन्छ । यहाँबाट वार्षिक २ लाख किलोग्राम तयारी चिया भारतलगायतका अन्य देशमा निर्यात हुने गरेको छ ।

सरकारी र निजी गरी इलाममा १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन् । देशभर १ सय ८ ठूला चिया उद्योग रहेका छन् भने सूर्योदय नगरपालिकामा मात्र ६१ वटा चिया उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये ५२ उद्योग सूर्योदय टि एसोसिएशनसँग आवद्ध छन् । यस्तै कुल ११ हजार ४१ वटा बगानहरुमा चिया खेती रहेको पाइएको छ । जसमध्ये इलाममा मात्रै ६ हजार ९ सय ९५ चिया बगान रहेका नेपाल चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्कअनुसार देशभर ३० लाख ९५ हजार २ सय ८४ ले चिया क्षेत्रमा रोजगारी पाएका छन् । जसमध्ये ३ हजार २ सय ४४ स्थायी श्रमिक छन् भने बाँकी अस्थायी रूपमा काम गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत ३, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया