सरकारका कामकारवाही अलोकप्रिय बन्दै गयो : नेता नेपाल

 असार १७, २०७६ मंगलबार १२:२०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

पूर्व सांसद मञ्च नेपालको १९ औँ साधारण सभालाई मंगलबार काठमाण्डौमा सम्बोधन गर्दे नेता नेपालले पूर्वाधार विनाका योजना घोषणा, मनपरी नियुक्ति अवकासलगायत क्रियाकलापका कारण नागरिकमा असन्तुष्टी बढ्दै गएको बताउनुभएको हो ।

न्यूनतम पूर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या श्रृजना भएको टिप्पणी उहाँले गर्नुभयो । व्यवहारमा पुष्टी नहुने सिद्धान्त सही सिद्धान्त नहुने भन्दै उहाँले परिर्वतनको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही सावित गर्यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्दछ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिर्माजित गर्नुपर्ने आवश्यकता पर्छ ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उहाँले आफ्नो देशका लागि हुने लाभ हानीको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो ‘आफ्नो देशको साधनहरु संयन्त्रहरुलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पूँजी मासिएर विदेशी पूँजीहरु फस्टाउने । नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योग धन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु एकदम लहलहाउने स्थिति होइन ।’

केही विशेष अवस्था र विषयले नेपालको राष्ट्रियता बेलाबखतमा संवेदनशील भएको हुनाले देशको सर्वोपरी हितलाई ध्यानमा राखि निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया