१४ लाखभन्दा बढीको लगानीमा बाल उद्यान निर्माण

 असार १७, २०७६ मंगलबार १६:३:४३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – त्यसै खेर गइरहेको सरकारी जग्गालाई सदुपयोग गर्दै इलाममा १४ लाखभन्दा बढीको लगानीमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण गरिएको छ । इलामको इलाम नगरपालिका वडानम्बर १० गोदकमा १४ लाख ३४ हजार ५४ रुपैँया बराबरको लगानीमा बाल उद्यान निर्माण गरिएको हो । 

माईखोला किनारमा रहेको वृद्धाश्रम नजिकै नेपाल सरकारको स्वामित्वमा रहेको ११ रोपनी जमिनमा उद्यान निर्माण गरिएको महिला जागरण संघ तथा वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष बिष्णु दाहालले बताउनु भयो । उहाँले भन्नु भयो, ‘जग्गाको व्यवस्थापन हुने तथा आश्रम सञ्चालन गर्न आर्थिक श्रोतमा समेत सहयोगी हुन्छ भन्ने उद्देश्यले उद्यानको निर्माण गरिएको हो ।’ 

उद्यान निर्माणकै लागि ५४ जनाबाट शेयर संकलन गरिएको छ । जसबाट ६२ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको थियो । त्यस्तै उद्यान निर्माण गर्न महिला तथा बालबालिका मन्त्रालयबाट २ लाख ८० हजार ७ सय, इलामनगरपालिकाबाट ४ लाख ९० हजार ८ सय ५४, र बृद्धाश्रमको अक्षय कोषबाट ६ लाख रुपैंयाँ गरी १४ लाख ३४ हजार ५४ रुपैँया बराबरको काम भइसकेको सञ्चालक समितिले जनाएको छ ।

उद्यान निर्माण सम्पन्न गर्नको लागि १६ लाख ५० हजार रुपैँया लाग्ने भएकाले यसको स्रोत खोजी कार्यलाई जारी राखेको जागरण संघका कमला घिमिरेले जानकारी दिनुभयो । 

उद्यानमा बालबालिका खेल्ने तीन प्रकारका खेल सामाग्रीहरु राखिएको छ । चिप्लेटी, पोखरी र पिङमा अहिले बालबालिकाहरु रमाउन पाउनेछन् । यस्तै पदमार्ग विश्रामस्थल र शौचालय सहितको सुविधासम्पन्न पार्क भित्र विभिन्न प्रजातिका फूलहरु समेत रोपिएका छन् ।

समितिका अध्यक्ष दाहालका अनुसार, आगामी दिनमा अपुग बजेटलाई व्यवस्थापन गरेर बालबालिका खेल्नका लागि छ प्रकारका सामाग्रीहरु राखिने छन् । उद्यानमा आउने बालबालिकालाई मात्र मनोरञ्जन प्रदान गर्ने नभई अभिभावकले समेत नँया वातावरणमा रम्न सक्ने सुविधाको व्यवस्था गरेर उद्यान निर्माण सम्पन्न गरिने बताइएको छ । सात महिना भित्रमा सम्पूर्ण काम भई सक्ने बताइएको छ । 


अभिभावकले उद्यानमा बालबालिकालाई विभिन्न खेलहरु सःशुल्क खेलाउन पाउनेछन् । खेलाए बापत निश्चित रकम तिर्नु पर्ने प्रावधान रहेको छ । जसबाट सङ्कलित रकम बृद्धाश्रम सञ्चालनमा खर्च गरीने समितिको भनाई छ । उद्यानबाट वार्षिक चार लाख रुपैंयाँ सङ्कलन गर्ने सञ्चालक समितिको लक्ष्य रहेको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया