वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण

 असार १८, २०७६ बुधबार १७:४९:५५

राम प्रमेश मण्डल/सप्तरी ।

सप्तरी – सुरक्षित वैदेशिक रोजगारीका लागि सप्तरीमा समुदाय स्तरीय अभिमुखीकरण गरिएको छ ।

डाक्नेश्वरी नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र राजविराजले वैदेशिक रोजगारीमा जान लागेका, फर्किएका र घर बिदामा आएका कामदारसहितलाई अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा नगर प्रमुख शिव नारायण साहले विदेश जाने युवाले दलाललाई धेरै विश्वास गर्ने, रकम लेनदेन गर्दा प्रमाण नलिने, सीपबिनै विदेश गएका कारण पनि विभिन्न समस्या निम्तिएको भन्दै वैदेशिक रोजगारीलाई सुरक्षित तथा लाभदायी बनाउन सबै सरोकारवाला तथा जनप्रतिनिधिको दायित्व भएको बताउनुभयो ।

अभिमुखीकरणमा सहभागी अरु जनप्रतिनिधिले आफ्नै परिवारका सदस्यहरु पनि ठगीमा परेको र दलालबाट समुदायमा धेरै खालका समस्या तथा चुनौती आइरहेको गुनासो गरेका थिए । 

सरकारले एजेण्टको व्यवस्था खारेज गरे पनि समुदायमा दलालको बिगबिगी रहेकाले यस सम्बन्धमा स्थानीय सरकारले निगरानी गर्नुपर्नेमा सहभागीले जोड दिएका छन् । 

कार्यक्रममा नगरपालिकाका २ सय जनालाई कार्यक्रमको माध्यमबाट सचेत गराउने र सुरक्षित वैदेशिक रोजगार प्रवद्र्धनमा सहजीकरण गर्ने लगायतका विषयमा जानकारी गराइएको छ । 

अभिमुखीकरण कार्यक्रममा सहभागी २८ परिवारबाट ३४ जना वैदेशिक रोजगारीमा गएको पाइएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया