चोरीमा संलग्न दुई पाकिस्तानी नागरिक पक्राउ

 असार २०, २०७६ शुक्रबार ६:५१:२६ | रासस
unn.prixa.net

काठमाण्डाै – महागरीय अपराध महाशाखाले चोरी कार्यमा संलग्न दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले काठमाण्डाै महानगरपालिका–२३ झोँसेमा राजेन्द्र श्रेष्ठले सञ्चालन गरेको डेभिस मेट्रो मनी एक्चेन्जमा पैसा साट्ने बहाना पैसा चोर्ने पाकिस्तानका ३२ वर्षीय मोहसीन खान र ३१ वर्षीय पूजा मोहसीन खानलाई बिहीबार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले रकम साट्ने बहानामा ९०० अमेरिकन डलर, तीन हजार साउदी रियाल र एक हजार ४०० चिनियाँ आरएमभी चोरी गरेर फरार रहेकाले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । 

पक्राउ परेकाले गएको वैशाखमा भक्तपुर सूर्यविनायकमा रहेको रामकृष्ण श्रेष्ठले सञ्चालन गरेको आरके इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, लोकन्थलीमा शान्तकृष्ण हेकाले सञ्चालन गरेको मासु पसलबाट ७० हजार रुपैयाँ र बुटवलमा शारदा वाग्लेले सञ्चालन गरेको राइजिङ स्पोर्टसबाट एक लाख ५० हजार रुपैयाँ चोरी गरेका थिए । 

चाेरी गर्ने दुवै जना गएको वैशाखमा महाशाखाको टोलीले पक्राउ गरी ५०/५० हजार रुपैयाँ धरौटीमा छुटेका  व्यक्ति भएको महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १८, २०८०

तपाईको प्रतिक्रिया