नवलपरासीको बौदीकालीमा पहिलो पटक बिजुली

 असार २५, २०७६ बुधबार ८:९:१४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – राष्ट्रिय प्रशारणको विद्युत नपुगेको नवलपुरासीको बौदीकाली गाउँपालिकामा विद्युत लाइनको सफल परीक्षण गरिएको छ । तनहुँको घिरिङ गाउँपालिका हुँदै नवलपुरको बौदीकालीमा पहिलो पटक विद्युत लाइन विस्तार गरिएको हो ।

घिरिङको फुलाबाट बौदीकालीको मदार हुँदै डेढगाउँमा विद्युत विस्तार गरिएको छ । घिरिङबाट तार टाँगेर डेढगाउँमा  ५० र १०० केभीएका दुई वटा ट्रान्सफर्मर जडान गरी विद्युत परीक्षण गरिएकोमा सफल भएको बौदीकाली गाउँपालिका –२, का वडाध्यक्ष बालप्रसाद ठाडाले बताउनुभयो । 

बुङ्दीकाली सामुदायिक विद्युतीकरण सहकारी संस्थाको पहलमा नेपाल सरकारको लागतमा बौदीकालीको डेढगाउँ, मिथुकरम र रकुवामा विद्युत विस्तार गरिएको छ । विद्युत विस्तारको जिम्मा पाएको रेणु कन्सट्रक्सनले डेढ वर्ष लगाएर विद्युतको पोल गाड्ने, तार टाङ्ने र ट्रान्सर्फमर जडानको काम सम्पन्न गरेको हो ।

विद्युतको परीक्षण सफल भएकोले अब छिट्टै सर्वसाधारणलाई मिटर वितरण गरेर विद्युत वितरण गरिने बुङ्दीकाली सामुदायिक विद्युतीकरण सहकारी संस्थाका अध्यक्ष पदमबहादुर विश्वकर्माले बताउनुभयो ।

विद्युत नपुगेको यस क्षेत्रमा पहिलो पटक विद्युत पुगेपछि स्थानीय खुशी भएका छन् ।

नवलपुरासीकोको बौदीकाली गाउँपालिकामा पहिलो पटक विद्युत पुग्न लागेको भए पनि यहाँको बुलिङटार गाउँपालिकामा विद्युत अझै पुगेको छैन । विुद्युत विस्तारका लागि बोझा पोखरीमा करिब चार वर्ष अघि सब स्टेशन निर्माण कार्य थालिएको भए पनि यसले पूर्णता पाउन सकेको छैन । वर्षौँ बितिसक्दा पनि ठेकेदारको लापरवाहीले सब स्टेशन निर्माणको कार्य १० प्रतिशत पनि हुन सकेको छैन ।

भारतीय ए टु जेड इन्स्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जय दुर्गे इन्जिनियरिङले सब स्टेशन बनाउने जिम्मा लिएका थिए । निर्माणको जिम्मा लिएका कम्पनीले काम नगर्दा सब स्टेशन निर्माणको काम अलपत्र परेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया