तनहुँमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

 असार २६, २०७६ बिहिबार १३:१५:१० | रासस

तनहुँ – तनहुँमा प्रधानमन्त्री रोजगार कार्यक्रम  प्रभावकारी देखिएको छ । १० पालिकामध्ये नौ पालिकामा शुरु गरिएको कार्यक्रमअन्तर्गत सडक मर्मत, नाला निर्माण, सडक पेटी, चौतारा, घरबास निर्माणलगायत काम भइरहेको छ ।

व्यास नगरपालिका बाहेक अन्य नौ पालिकामा कार्यक्रम सुरु भएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाअन्तर्गत छोटो समयमै पनि पालिकामा विकासको काम राम्रो भइरहेको छ । 

कार्यक्रममार्फत जिल्लाको भिमाद नगरपालिकामा सडक नाला, पहिरो व्यवस्थापन, बगँैचा निर्माणलगायत काम गरिएको छ । सामुदायिक आयोजना निर्माणका लागि शुरु भएको कार्यक्रमबाट विभिन्न पाँच निर्माणको काम गरिएको रोजगार संयोजक विवेचन घिमिरेले जानकारी दिनुभयो । 

नगरपालिकामा १०० जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमबाट विपन्न परिवार प्रत्यक्ष लाभान्वित हुनुका साथै ठूलो धनराशि खर्च गरी बनाइएका सडकको मर्मतसम्भार विद्यालय परिसरमा सरसफाइ, बगैँचा निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै देवघाट गाउँपालिकामा ६१ जनाले रोजगारी पाएका छन् । बन्दीपुर गाउँपालिकामा पुन्टेखोला नाला निर्माण, वडा नं २ को गुर्दुम नाला निर्माण र बन्दीपुर गाउँपालिका–१  को पिप्लेनाला निर्माणमा ३५ जनाले काम पाइरहेको रोजगार संयोजक र शरणसिंह गुरुङले  जानकारी दिनुभयो ।

भानु नगरपालिकामा सडक, नाला मर्मत, सामुदायिक भवनमा रङरोगन, सार्वजनिक जग्गामा फलफूलका बिरुवा रोपनलगायत कामका लागि २५ जनाले काम पाएका छन् ।

चाम्बास खहरेमा भत्किएको सडक मर्मतका लागि २५, वडा नं १२ स्थित गाउँसेवा कोष र घलेछाप सामुदायिक भवनमा रङरोगनका लागि २५, वडा नं ४ स्थित भानु जन्मस्थल विकास समिति प्राङ्गण सरसफाइ र रङरोगनमा २५ जनालाई खटाइएको नगरपालिकाका रोजगार संयोजक कृपाहरि लौडारीले जानकारी दिनुभयो । 

आँबुखैरेनी गाउँपालिकामा बाटो मर्मतका लागि १६ जनालाई खटाइएकोे रोजगार सेवा केन्द्र प्रमुख कमला गैह्रेले जानकारी दिनुभयो । यसैगरी म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, रिसिङ,  घिरिङ र बन्दीपुर गाउँपालिकामा पनि कार्यक्रममार्फत विभिन्न कार्यक्रम भइरहेको छ । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया