देशका केही ठाउँमा भारी वर्षाको सम्भावना, हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने

 असार २७, २०७६ शुक्रबार ७:५३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशका धेरैजसो भूभागमा शुक्रबार पनि ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार मध्य र पूर्वका केही ठाउँमा भारी वर्षा हुने भन्दै सतर्क रहन महाशाखाले आग्रहसमेत गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) र मध्य तथा पूर्वी भागमा बनेको न्यूनचापीय क्षेत्रका कारण केही भूभागमा ठूलो वर्षा हुने सम्भावना देखिएको महाशाखाकी मौसमविद् विभुति पोखरेलले बताउनुभयो ।

मनसुनी समयमा जमिन तातेपछि पानीका कण बोकेको हावाले निश्चित ठाउँमा एउटा प्रणालीको विकास गराउँछ । यो समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायूमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ । मनसुनी वर्षा ठूलो क्षेत्र ओगटेर हुने गर्छ । 

‘अहिले देशभर लगातार मनसुनी वर्षा भैरहेको छ ।’ मौसमविद् पोखरेलले भन्नुभयो ‘यो अझै केही दिनसम्म जारी रहन्छ ।’ उहाँका अनुसार शुक्रबार देशैभर बदली हुने र धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । 

देशका पश्चिमी भूभागका केही ठाउँ, मध्य र पूर्वका धेरै ठाउँमा वर्षा हुने केही स्थानमा अति ठूलो वर्षा हुने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि पूर्ण बदलीको सम्भावना रहेकोले पानी पर्न नरोकिने महाशाखाले जनाएको छ ।

यस्तै, पानीसँगै हावाहुरी पनि चल्ने भएकाले थप सतर्कता अपनाउन मौसमविदको आग्रह छ ।

शुक्रबार दिनभर पानी पर्ने क्रम नरोकिने भएकाले नदीहरुमा जलको वहाव, स्तर बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने पनि महाशाखाको सूचनामा उल्लेख छ । साथै, देशभर हवाई तथा सडक यातायातमासमेत अवरोध आउने सक्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया