नदीमा पानीको बहाव घट्न थाल्यो, पानी पर्ने क्रम विस्तारै घट्दै जाने मौसमविद्को अनुमान

 असार २९, २०७६ आइतबार ८:३७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्षा कम भएपछि नदीमा पानीको बहाव घट्न थालेको छ । अहिले कमला र कोशी नदीमा मात्र पानीको सतह सतर्कता तहभन्दा माथि छ । अन्य नदीमा भने पानीको सतह घटेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

अब पानी पर्ने क्रम बिस्तारै घट्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा केही तल सरेकाले मनसुन अझै सक्रिय देखिए पनि विस्तारै कमजोर हुँदै जाने तर एक दुई दिन पानी पर्ने क्रम भने नरोकिने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । 

आइतबार देशभर सामान्यदेखि पूर्ण बद्ली भई धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । विशेषगरी पूर्व र मध्य क्षेत्रका केही ठाउँमा र पश्चिमका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आइतबार राति पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आइतबार कन्काई, कोशी, कमला, बागमती, नारायणी लगायतका नदीमा पानीको बहाव सतर्कता तह आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, पश्चिम राप्ती बबई, कर्णाली र महाकालीमा बहाव बढ्दो क्रममा हुने तर सतर्कता तह भन्दा तलै हुने महाशाखाको अनुमान छ । खतराको तह पार गर्ने र गर्न सक्ने नदी आसपासका नागरिकलाई  मोबाइलमा महाशाखाले एसएमएस मार्फत् जानकारी गराउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया