यस्तो छ आउँदो तीन दिनसम्मको मौसम, भारी वर्षाका कारण बाढी पहिरो जानसक्ने चेतावनी

 असार ३०, २०७६ सोमबार ७:२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - देशको पूर्व, मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

वर्षाका कारण देशको पहाडी भूभागमा पहिरो र तराईमा बहने नदीमा जलको बहाब बढेर बाढी जान सक्ने देखिको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो ।

यस्तै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटीका कारण सामान्य अवरोध आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि उसले आग्रह गरेको छ ।  

मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भागमा रहेकाले मनसुनि गतिविधि देशभर सक्रिय बनेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयाे । अहिले देशको मध्य तथा पूर्वी क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको उहाँले बताउनुभयो ।

अहिले पनि पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा भैरहेको छ ।

महाशाखाले आउँदो तीनदिनसम्म मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी परिरहने पूर्वानुमान गरेको छ । सोमबार दिनभर मौसम बदली भई केही स्थानमा पानी पर्ने देखिएको भए पनि राति भने देशभर अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै मंगलबार पनि दिनभर मध्य र पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । मंगलबार राति भने देशभर मौसम पूर्ण बदली भई वर्षा हुने सम्भावना छ ।  

यस्तै साउन १ गते बुधबार पनि देशैभर दिनभर बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार पूर्वी क्षेत्रमा मौसम बढी सक्रिय हुने देखिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • गौरव

    July 15, 2019, 7:15 a.m.

    यति सानो देश छ, त्यसको पनि पूर्वी , मध्य र पश्चिम भने पछि पुरै देश समेटिन्छ। अर्को कुरा मौसम बिभागले पानी पर्छ भने पनि चितवनमा चै घाम लागेको छ। यस्तो नाथे सरकारी हावाछेकुवा मौसमको भविष्यवाणीमा रत्ति विश्वास छैन।

  •  0 Reply

तपाईको प्रतिक्रिया