पार्टी एकताकाे बाँकी सबै काम आजै टुंगो लाग्छ: नेकपा अध्यक्ष प्रचण्ड

 असार ३१, २०७६ मंगलबार १६:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दावी गर्नु भएको छ । 

अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको बताउनु भएको हो ।

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकमा बोल्दै उहाँले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने अध्यक्ष दाहालको भनाइ छ । उहाँले पार्टी एकताको सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गर्नुभयो ।

नेकपा अध्यक्ष दाहालले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षडयन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले जनताले विश्वास गरेर दुई तिहाइ प्राप्त गरेको पार्टी र सरकार दुवैले जनताको चाहना अनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहोर्‍याउनु भयो ।

अध्यक्ष दाहालले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि बताउनु भयो ।

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया